Logo

मुख्यमन्त्रीको दाबी अस्वीकृत गर्ने निर्णयविरुद्ध अदालत जाने लक्ष्मण चौधरीको चेतावनी



काठमाडौं, ४ वैशाख । नागरिक उन्मुक्ति पार्टीका नेता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा परेको दाबी अस्वीकृत गर्ने प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत जाने बताएका छन् । प्रदेश प्रमुख नजीर मियाँले मुख्यमन्त्रीमा परेको दाबीबाट निश्कर्षमा पुग्न नसकिएको भन्दै दाबी अस्वीकृत गरेर पुनः दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले दाबी अस्वीकृत गर्दै २ दिनभित्र पुनः दाबी पेश गर्न आह्वान गरेपछि आज (मंगलबार) पत्रकार सम्मेलन आयोजना गरेर लक्ष्मणले अदालत जाने बताएका हुन् । उनले प्रदेश प्रमुखले कानुन विपरीत सरकार गठनको समय लम्ब्याएको र प्रष्ट बहुमत हुँदाहुँदै दाबी अस्वीकृत गरेको भन्दै आपत्ति जनाए ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नाउपाको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनले आफूहरुलाई कांग्रेस, एकीकृत समाजवादी र नाउपाका सांसदहरुको समर्थन रहेको भनी ती दलका प्रदेश संसदीय दलका नेताहरुको हस्ताक्षर प्रदेश प्रमुख मियाँसमक्ष बुझाएका थिए ।

प्रदेश प्रमुख मियाँले प्रष्ट बहुमत पेश गर्दा पनि मुख्यमन्त्रीमा नियुत्ति नगर्नुको नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, नाउपाकै अर्का सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । कैलाशले आफूलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र आफ्नो दलको समर्थन रहेको दाबी पेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्