Logo

विश्वदिपले छोडेपछि बाबुरामले भने–तत्काल बलशालीहरूसंग आत्मसमर्पण गर्नेहरुले कुनै दिन पश्चाताप गर्नैपर्छ



काठमाडौं, ५ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देशमा न्यूनतम राजनीतिक मूल्य र मान्यता अनि नैतिकतालाई कुल्चिएर साम, दाम, दण्ड र भेदको नाँगो अभ्यासन भएको भन्दै दुःख व्यक्त गरेका छन् । अहिले संसद्मा भएका नयाँ तथा पूराना दलहरुले जनताका गम्भीर संरचनात्मक र तत्कालिक मुद्दामा कुनै चासो नराख्नु लोकतन्त्र र देशको स्थिरताको निम्ति गम्भीर खतराको संकेत भएको बाबुरामको भनाई छ ।

उनले आफूसँगको सहकार्य छोडेर माओवादीमा फर्किएका विश्वदिप पाण्डेलाई लक्षित गरेर तत्काल बलशालीहरुसँग आत्मसमर्पण गर्नेहरु कुनै दिन पछुताउने पनि टिप्पणी गरेका छन् । उनले विश्वदिपको नाम त लिएका छैनन् । तर, विश्वदिपले बाबुरामको साथ छोडेर माओवादी रोजेपछि उनको यस्तो टिप्पणी आएको हो ।

बाबुरामले फेशबुकमा लेखेका छन्–

केन्द्रदेखि प्रदेशहरूसम्म सदनमा रहेका सबै पुराना र नयाॅ भनिएका दलहरूसमेत सत्ता भागबण्डाको लुछाचुॅडीमा लिप्त हुनु, न्यूनतम राजनीतिक मुल्यमानता र नैतिकतालाई कुल्चेर साम दाम दण्ड भेदको नांगो अभ्यास गर्नु, देश र जनताका गम्भीर संरचनात्मक र तत्कालिक मुद्दामा कुनै चासो नराख्नु, भ्रष्टाचार र अनियमितता दिन दुगुना रात चौगुना बढ्दै जानु, आम जनता र विशेषतः वेरोजगार युवा किंकर्तव्यविमूढ बनेर देश छोडेर हिंड्न प्रवृत्त हुनु हाम्रो लोकतन्त्र र देशको स्थीरताकोनिम्ति गम्भीर खतराको संकेत हो।

मूल नै धमिलिए पछि तल जतिसुकै संग्ल्याउन बल गरे पनि त्यो संग्लिन्न। अन्ततः लोकतान्त्रिक राज्यमा राजनीति,दल र नेताहरू नै सच्चिनुपर्छ वा सच्याउनुपर्छ। त्यो हुन नसके नयाॅ र राम्रो अग्रगामी विकल्प तयार गर्नुपर्छ! गलत र भ्रष्ट भनेर जान्दाजान्दै निरीह बनेर तिनकै पाउमा लम्पसार पर्नु वा देश छोडेर हिंड्नु कुनै सचेत र स्वाभिमानी मान्छेले गर्न हुने काम हुॅदैहैन।

बेठीकका विरूद्ध नलडी विश्व इतिहासले कहिल्यै अग्रगति लिएको छैन! सक्छौं बेठीकका विरूद्धको लडाइॅ र ठीकको स्थापना अभियानमा साथ दिऊॅ। नसके सत्य र न्यायको मार्गमा लाग्नेहरूलाई यो वा उ वहानामा घात गर्ने काम नगरौं! तत्काल बलशाली तर बेठीकहरूसंग आत्मसमर्पण गर्नेहरू र सत्यमार्गीहरूलाई घात गर्नेहरूले कुनै दिन पश्चाताप गर्नैपर्छ! एक दिन इतिहासले सबैको हिसाब गर्छ गर्छ! file photo



प्रतिक्रिया दिनुहोस्