Logo

चर्चाको शिखरमा ‘बोक्सीको घर’ को गीत ‘बुझिनँ मैले’



काठमाडौं, ५ वैशाख । आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बोक्सीको घर’ को गीत ‘बुझिनँ मैले’ यतिबेला चर्चाको शिखरमा छ । यो गीतलाई १३ दिनमा युट्युबमा ४६ लाख बढी भ्यूज मिलिसकेको छ । गीत रिलिजको सुरुवाती दिनमा हिसाबले यो भ्युज उच्च हो ।

जसले गर्दा सिनेमाको गीतको चुलिँदो लोकप्रियता देखाउँछ । यतिमात्रै होइन, अहिलेको गीत युट्युवको ट्रेन्डिङमा समेत उक्लिएको छ । यो समाचार तयार पार्दाको अवस्थामा सिनेमाको यो गीत युट्युब ट्रेन्डिङको २४ औं स्थानमा पुगेको छ । यो गीत नेपालमा प्रतिबन्धित टिकटकमा भिपिएनमार्फत् चलाउने दर्शकको ठुलो संख्या माझसमेत चर्चित छ । युट्युबमा गीतको भ्यूज बढ्नुमा त्यसको पनि प्रभाव देखिन्छ ।

सिनेमाको यो गीत लोकप्रिय हुनुमा अडियोको ठूलो योगदान छ । गीतको शब्द सशक्त र अर्थपूर्ण लाग्छन् । विशेषगरी गीतको दोस्रो अन्तरामा समावेश ‘फूलजस्ती रे, जुनजस्ती रे’ बुलन्द सुनिन्छ । संगीत र गायन गीतको अर्को बलियो पक्ष हो । यो गीत पछिल्लो समय संगीत क्षेत्रका हिट मेशिन गायक तथा अभिनेता प्रकाश सपूतले तयार पारेका हुन् ।

उनको नामैले पनि गीतलाई लोकप्रिय बनाउन ठूलो भूमिका खेलेको बुझाई निर्माण टिमको छ । यो गीतलाई भिडियोले पनि उतिक्कै न्याय गरेको छ । गीतको मर्म र शब्दको भावअनुसार नृत्य निर्देशक सुनिल क्षेत्रीले अभिनेत्री केकी अधिकारीलाई प्रस्तुत गरेका छन् । केकीको शारीरिक हाउभाउ, अनुहारको एक्सप्रेसन, नृत्य र आँखाको भाव जबर्जस्त देखिएको छ । ुबुझिनँ मैलेु गीत लोकप्रिय बनेपछि यसको प्रभाव बक्स अफिसमा देखिने विश्लेषण सिनेकर्मी माझ भैरहेको छ ।

गीतमा प्रकाश सपूतको स्वर, शब्द र संगीत छ भने गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् । समाजले महिलालाई हेर्ने फरक–फरक दृष्टिकोणप्रति गीतले व्यंग्य गर्छ । सुरक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको सिनेमामा केकीसहित श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा लगायतको पनि अभिनय छ ।

अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।



प्रतिक्रिया दिनुहोस्