Logo

प्रधानमन्त्री प्रचण्डलाई क्यान्टोनमेन्टको भ्रष्टाचारको फाइल खोल्न र जनयुद्धमा बैंक लुटेको हिसाबकिताब देखाउन नारायण खड्काको चूनौति



काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई कृत्रिम गठबन्धनको संज्ञा दिएका छन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले ३२ सिट बोकेर लहडमा एमाले र कांग्रेसबीच खेलेर सत्ता चलाएको पनि टिप्पणी गरे ।

आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्ड व्यक्तिगत रुपमा हेलिकप्टर घुमिरहेपनि जनतामा भने चरम निराशा रहेको बताए । उनले भने,‘मैले पटक पटक भनेको छु, अहिले जनतामा विद्रोहको भाव जागृत भैसकेको छ । प्रचण्डजीलाई अब रमाईलो होला, उहाँले आफ्नो परिवारपनि सबैजनालाई सेटल गरिसक्नुभयो। उहाँलाई त अब रमाईलो नै होला । तर, डेलिभरको सवालमा उहाँले भनेजस्तो सुशासन त्यो केही पनि भएको छैन् । यो अस्थिरताले थप समस्या खडा गरेको छ ।’

उनले अहिलेको एमाले–माओवादी केन्द्रको गठबन्धन कृत्रिम भएकोले आँफै भत्किने दाबी गरे । वर्तमान गठबन्धन भत्काउनको लागि नेपाली कांग्रेसले केही गर्नुनपर्ने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दोहोरो चरित्र देखिएको आरोप लगाए । मुलुकको नेतृत्व गरिसकेको व्यक्ति भएकाले ओलीले कृत्रिम र नक्कली कुरा गर्नु शोभनीय नहुने खड्काको भनाई छ । ओलीले आफ्नो कमजोरी ढाक्नको लागि कहिले विदेशी र कहिले कांग्रेसलाई दोष दिने गरेको उनको आरोप छ ।

नेता खड्काले प्रधानमन्त्री प्रचण्डलाई क्यान्टोनमेन्टको घोटालाा काण्डको फाईल खोलेर देखाउन चूनौति दिए । उनले भने,‘०४६ सालपछिको भ्रष्टाचारको फाईल खोल्ने कुरा गर्नुभएछ, यो त गज्जब हुन्थ्यो । पहिला उहाँबाटै सुरु गर्ने, क्यान्टोनमेन्टको कुरा आईरहेका छन् । उहाँका आफ्नै मन्त्रीका अहिले कुरा आइराखेका छन् । पहिला आफूबाट सुरु गरेपछि पो उदाहरण बन्छ । तथाकथित जनयुद्ध गर्दा काटमार गर्दा आफ्नो स्थिति के थियो, अहिले के छ ? कुन सुखसयलमा उहाँ अहिले बस्नुभएको छ ? कुन लक्जरियस लाईफ बिताइराख्नुभएको छ । त्यो कहाँबाट आयो ? लडाईं र काटमार हुँदा जनता र बैंकबाट लुटेको पैसाको हिसाबकिताब देखाउनुपर्यो । पहिलो त्यति गरेपछि जनताले उहाँलाई हाईहाई गर्छन् ।’



प्रतिक्रिया दिनुहोस्