Logo

ओलीको नजरमा सुहाङ नेम्वाङ : पढेलेखेको विद्धान युवा, १८ घण्टा काम गर्नसक्ने र एक पैसा भ्रष्टाचार नगर्ने नेता



काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वार सहाङ नेम्वाङले जित्ने दाबी गरेका छन् । उनले सहाङलाई पढेलेखेको विद्धान युवा, १८ घण्टा काम गर्नसक्ने र एक पैसा भ्रष्टाचार नगर्ने नेताको रुपमा चित्रण गरेका छन् । इलाममा हिजो (बुधबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा ओलीले भनेका थिए–‘पढेलेखेको विद्वान युवा, १८ घण्टा काम गर्न सक्ने, एक पैसा भ्रष्टाचार नगर्ने नेता हामीले खडा गरेका छौँ । सबैलाई आफैँ आफैँ चुनाव लड्न मन भए पनि एमालेले सुरु गरेको देश निर्माणको अभियानमा साथ दिन अन्य दलले पनि सुहाङलाई सघाउनुभएको छ ।’

इलामका जनताले जिताएर पठाएका सुवास नेम्वाङले देशलाई संविधान दिएको बताउँदै अध्यक्ष ओलीले अब जितेर जाने उम्मेदवारले पनि देश र जनताका पक्षमा त्यतिकै योगदान गर्ने भनाइ राखेका थिए । उनले एमालेले घरघरमा वृद्ध भत्ता पुर्याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको सुनाएका थिए ।

एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको बताउँदै अध्यक्ष ओलीले भनेका थिए,‘म प्रधानमन्त्री हुँदा २१० पालिकादेखि सदरमुकाम जोड्ने सडक र ३९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन्, अब अधुरा र अलपत्र कामहरूलाई पूरा गर्नुपर्छ ।’

एमालेले सबै धर्म, संस्कार, संस्कृति र समुदायको सम्मान गर्ने उनको भनाई छ । एमाले सामाजिक सद्भाव कायम र सामाजिक समानताको अभियानमा लागेको प्रष्ट पार्दै सबै धर्म, भाषाभाषी, संस्कृतिको सम्वद्र्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुनेमा उनले जोड दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot