Logo

गण्डकीको विशेष अधिवेशन आज, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने, खगराजले विश्वासको मत नलिने



काठमाडौं,७ वैशाख । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भन्दै आह्वान भएको गण्डकी प्रदेश सभाको विशेश अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सभा भवन पोखरामा बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनार्थ बैठक बोलाईएको भएपनि संसदबाट आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत नलिने भएका छन् ।

अधिकारीले तत्काल संसदबाट विश्वास पाइहाल्ने स्थिति नरहेकाले विश्वासको मतको प्रस्ताव पेश नगर्ने एमाले निकट स्रोतले जनाएको छ । संसद सचिवालयका अनुसार जीवनाशक विधेयक र सडकसम्बन्धी विधेयक छलफलका लागि तयार छ । अन्य बिजनेस भने संसदमा छैन ।

सर्वोच्च अदालतले दीर्घकालीन निर्णय गर्न रोक लगाए पनि संसद बैठक डोकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले भने बैठक बहिष्कार गर्ने भएको छ ।

आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी लागेका थिए ।सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो ।

सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा दायर गरेको रिटमा १० वैशाखमा पेशी तोकिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार आह्वान गर्दा दलको बहुमतले पुग्ने भन्दै एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसद पुर्‍याएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्