Logo

एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल



काठमाडौं,७ वैशाख । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग हारेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको सेमिफाइनल खेलमा यूएईसँग ६ विकेटले पराजित भयो ।

यूएईले १७।२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए। विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए। १२ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो।

गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए। प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुने छ।

हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।

अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो।



प्रतिक्रिया दिनुहोस्