Logo

पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ: महिलामन्त्री चौधरी



काठमाडौँ, ८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्याएर इन्द्रेणी पर्यटन भित्र््याउन लाग्नुपर्ने बताएकी छन् ।

नेपालमा पहिलोपटक आयोजना भएको इन्द्रेणी (रेन्बो्) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिने बताउनुभयो । पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्याण्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गरिन्।

लैङ्गिक समानता नीति २०७७ मै लागू भएको जनाउँदै मन्त्री चौधरीले नीति परिमार्जन गर्नका निम्ति छुट्टै निकाय तोकिएको उल्लेख गरिन्। उनले भनिन्, “लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ, पहिलो समलिङ्गी विवाह दर्ता भएको छ । विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारीमा छौँ ।”

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘मायाको पहिचान नेपाल’ले सम्मेलनको आयोजना गरेको हो । मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको र अहिले कार्यान्वयनको क्रममा रहेको जानकारी दिईन् ।

नेपालमा पहिलोपटक गत मङ्सिरमा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ र सुरेन्द्र पाण्डेलाई समलिङ्गी विवाह दर्ताको प्रमाणपत्र दिएको थियो । माया र सुरेन्द्रको पहिलो विवाह दर्ता भएसँगै सुप्रिता गुरुङ र दिप्ती श्रेष्ठलाई बर्दियाको बढैयाताल गाउँपालिकाले समलिङ्गी विवाह दर्ताको प्रमाणपत्र दिएको छ ।

सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि नेपाल सुरक्षित रहेको बताए । समलिङ्गी विवाह दर्ता हुन थालेकोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालमा सम्मानित वातावरण रहेको उहाँले उल्लेख गरे।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको बताए । “संवैधानिक अधिकार दिएको छ, अरू देशमा जाँदा डराइडराई जानुपर्छ”, उनले भने, “यहाँ नेपालमा सुरक्षा छ । समलिङ्गी विवाह ‘हनिमुन डेस्टिनेसन’को रूपमा लैजाने सोचिरहेका छौँ ।”

नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले विश्वका एक सय ४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको बताए । “एक सय ४५ देशमा नेपालको अवस्था राम्रो र उत्साहप्रद देखिएको छ । अनुकरणीय छ । प्रगति राम्रो भएको छ”, उनले भने, “समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल एसियामा दोस्रो देश बनेको छ ।”

पर्यटन सम्मेलनमा अमेरिका, न्यूजील्याण्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot