Logo

सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती



गोदावरी (कैलाली), ९ वैशाख । कैलालीमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरले एक सय एक किलोमिटर सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा शनिबारदेखि आठ दिनसम्म सीमा पैदल गस्ती सुरु गरेको हो ।

त्रिनगर भन्सार सीमास्तम्भबाट सुरु भएको गस्ती जिल्लाको पूर्वी सीमास्तम्भ पुगेर समापन गरिने जनाइएको छ । सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बमको कमान्डमा ३५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्ने सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बताए ।

उनले त्रिनगरस्थित सीमास्तम्भ ७५२/६ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर सीमास्तम्भ श्रीलङ्कास्थित नम्बर ७०० मा पुगेर समापन गरिने बताए । भारतसँग जोडिएको एक सय एक (१०१) किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगम र निरीक्षण गर्ने उनको भनाइ छ ।

पैदल गस्तीमा सीमास्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिने जनाइएको छ । सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार यसअघि कञ्चनपुरको सीमा क्षेत्रमा समेत पैदल गस्ती गरिएको जनाइएको छ ।

सो क्रममा सीमास्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिने भएको छ । सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा सुरु भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि, राजनीति दलका नेता, स्थानीय र भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग अन्तक्र्रिया गर्ने जनाइएको छ । तस्करी नियन्त्रण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको निगरानी र नियन्त्रण गर्न पैदल गस्तीले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रहरी उपरीक्षक पाण्डेले आठ दिनसम्म गस्ती टोलीले दिन र रातिको समयमा समेत पैदल गस्ती गरेर सीमा क्षेत्रको निरीक्षण गर्ने जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot