Logo

बाबुरामले प्रचण्डसँग आफ्नो लागि राष्ट्रपति र हिसिलाको लागि उपराष्ट्रपति पद मागेकै हुन त ? महिन्द्र रायको दाबीबारे बाबुरामको मौनता !



काठमाडौं, ९ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले अर्का अध्यक्ष डा. बाबुराम भट्टराईमाथि राष्ट्रपति नबनाउँदा नेकपा (मओवादी केन्द्र) सँग एकता गर्न नमानेको खुलासा गरेका छन् । पछिल्लो समय नेसपामा यादव र भट्टराईबीचको विवाद चुलिएको छ । दुवै पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका छ्न ।

यादव पक्ष भने माओवादीमा एकता गर्न हतारिएको छ । बाबुरामले भने कुनैपनि हालतमा माओवादीसँग एकता नहुने अडान लिएका छन् । तर, अब यादव र भट्टराईबीचको विवाद व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएको छ । यादवले बाबुरामले ०७९ को निर्वाचनपछि आफ्नो लागि राष्ट्रपति पद मागेको र प्रचण्डले त्यसको लागि सहयोग नगरेपछि माओवादीसँगको एकताबाट भागेको आरोप लगाएका हुन् ।

चुनावअघि नेसपा र माओवादीबीच एकता गर्ने सहमति भएको थियो । त्यहीअनुसार नेसपाले माओवादीको चुनाव चिन्ह लिएर ०७९ को चुनावमा भाग लिएको थियो । काठमाडौं–७ मा बाबुरामकी छोरी मानुषी यमीले हँसिया हथौडा चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गरेकी थिईन् । तर, उनी रास्वपाका गणेश पराजुलीसँग पराजित भईन् ।

बाबुरामले राष्ट्रपति नपाएपछि उपराष्ट्रपतिको निर्वाचनमा पत्नी हिसिला यमीको लागि प्रचण्डसँग लविङ गरेको र त्यसमा पनि प्रचण्डले जसपाको भागमा परेको भनेर पन्छिएपछि बाबुराम झनै बिच्किएको महिन्द्रको आरोप छ । महिन्द्रले लगाएको आरोप मिडियामा छताछुल्ल हुँदासमेत बाबुरामले कुनै प्रतिक्रिया दिएका छैनन् ।

बाबुराम सामाजिक सञ्जालमा निकै सक्रिय हुने नेतामा पर्छन् । उनी यतिवेला पार्टीको कामविशेषले लुम्बिनी प्रदेशमा छन् । पत्नी हिसिलासँगै उनी कपिलवस्तुको जगदीशपुर तालमा डुंगा सयर गरेको देखिएका छन् । तर, महिन्द्र राय यादवले लगाएका आरोपबारे बोलेका छैनन् । file photo



प्रतिक्रिया दिनुहोस्