Logo

नेपाल र नेपाली पहिचान मन नपर्नेले राप्रपालाई मतदान नगर्नुः ज्ञानेन्द्र शाही (भिडिओसहित)



काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले आगामी उपनिर्वाचनमा पार्टीको एजेण्डा स्थापित गरेर देखाउने दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासग संवाद गर्दै उनले यसपटक विकल्पको भोट राप्रपालाई आउने दाबी गरेका हुन् । साथै, आफूले चुनावी अभियानका क्रममा त्यहाँका जनतालाई पार्टीको एजेण्डा स्पष्ट भनेको र अन्य दलका उम्मेदवारलेझैं नढाटेको बताए । उनले यो देशको एकमात्र पहिचान नेपाल र नेपाली रहेको बताए । नेपाल र नेपाली पहिचान मन नपर्नेले राप्रपालाई मतदान नगर्नसमेत भनेको उनले बताए ।

‘राप्रपाले आफ्नो एजेण्डा स्थापित गर्छ । हामी गाउँ–गाउँमा गयौं । विकल्पको भोट अब राप्रपालाई आउँछ । अहिले पनि पहिचानको कुरामा स्पष्ट छ राप्रपा । हाम्रो पहिचान एउटामात्र छ, त्यो नेपाली ।’ उनले भने, ‘देश एउटामात्रै छ, त्यो नेपाल । यदि यो पहिचान मन पर्दैन भने मतदान नगर्नुस् पनि भनेको छु । त्यो पनि पहिचानवादी हुँ भन्ने मान्छेहरुको बीच आम सभामा गएर बोलेको छु मैले ।’

साथै, राप्रपा पहिचानवादी दल नै रहेको उनको दाबी छ । नेता शाहीले आफूहरुले हिन्दु, बौद्ध र किरातसहितको सनातन राष्ट्रको पक्षमा आवाज बुलन्द पारेको बताए । हाम्रो पार्टी पहिचानवादी नै हो । हिन्दु, बुद्ध र किरातसहितको बैद्धिक सनातनसहितको देश, नेपालीभन्दा ठूलो पहिचान संसारमा के छ ? आज पनि भन्छु, जात एउटामात्रै छ नेपाली, देश एउटामात्रै छ नेपाल,’– नेता शाहीले भने ।

साथै, राप्रपा एउटा सांसद पदका लागि जातीय आगो सल्काएर भाइभाइबीच द्वन्द्व गराउने पक्षमा नरहेको उनले बताए । ‘एउटा सांसद पदका लागि दाइभाइबीच लडाइँ गराउन चाहँदैनौं । सांसद पदका लागि हामीले जातीय आगो सल्कायौं भने, भोली दंगा भयो भने यो आगो निभाउने कसले ? जाबो सांसद पदका लागि नेपाली दाजुभाइबीचमा झगडा गराउनु छैन । नेपाल भन्ने देश भए पो हामी चुनाव लड्छौं त,’– उनले भने ।

राप्रपाले भोट माग्न गएको ठाउँमा अरु दलका नेता र उम्मेदवारले झैं नढाँटेको उनको दाबी छ । उनले आफूहरुले राई, लिम्बु देख्नेबित्तिकै जातीय पहिचान र ब्रामण, क्षेत्रीसँग सनातन हिन्दुवादी भनेर कुरा नगरेको उनको भनाइ छ । ‘जहाँ भोट माग्न गएका छौं सत्य बोलेका छौं । हामीले अरु पार्टीका साथीहरुले जस्तो गरेका छैनौं ।’ नेता शाहीले भने, ‘यसो राई, लिम्बुका छोराछोरी देख्नेबित्तिकै म तिम्रो जातीय पहिचानमा कुरा उठाउँछु, देश ध्वस्त पारौं भनेका छैनौं । क्षेत्री, ब्रामणका छोराछोरी देख्नेबित्तिकै हामी हिन्दुवादी हौं, हामीलाई भोट दिऊ भनेका छैनौं ।’

साथै, अघिपघि धर्म निरपेक्षताको हिमायती भन्नेहरुले चुनावको बेलामा फाल्गुनन्द गुरूका चेला आत्मनन्द गुरुलाई लाइन लागेर भेटेकोप्रति टिप्पणी गर्दै उनले अब कलाकार र नेतामा कुनै फरक नरहेको बताए । चुनावका बेलामात्रै आत्मनन्द गुरुलाई सम्झनेले गुरुको सम्मान स्वरुप संसद्मा पनि बोलेर देखाउन सांसद शाहीले चुनौति दिए ।

‘नेता र कलाकारमा अब केही फरक रहेन । अहिले जान पर्दैन । त्यहाँ गएर किरात धर्मलाई रक्षा गर्छौं, फाल्गुनन्द गुरुलाई सम्मान गर्छौं भनेर संसदमा बोलिदेउ न । बोलिमात्रै देउ, हिम्मत छ ? चुनाव आउँदा फाल्गुनन्द याद आउने, किरातेश्वर याद आउने, लारम्बा याद आउने, चुनाव सकिएको भोलिपल्ट धर्म निरपेक्षता चाहिन्छ भनेर वकालत गर्ने । चुनावको बेला धर्म गुरुलाई सम्झन्छ भने त्यो स्वार्थी भावना जोडिएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot