Logo

इलाम–२ उपनिर्वाचन रास्वपाको लागि प्रतिष्ठाको लडाईं, भोलि दुई ठाउँमा शक्ति प्रदर्शन गर्ने



काठमाडौं, १० बैशाख । यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचन नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको लागि प्रतिष्ठाको विषय बनेको छ । रास्वपाका सभापति रवि लामिछाने यतिवेला चुनावी मैदानमा नै छन् । उनी नेपाल सरकारको उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारीमा छन् ।

तर, इलामको उपनिर्वाचनको कारण उनले देश र जनताको काम छोडेर इलाममा अड्डा जमाएका छन् । इलाम–२ मा रास्वपाले युवा व्यक्तित्व मिलन लिम्बुलाई उम्मेद्वार बनाएको छ । लिम्बु रास्वपामा प्रवेश गर्नुअघि नेकपा (माओवादी केन्द्र) मा सक्रिय थिए । उनले चुनावमा उम्मेद्वारी दिँदासम्म माओवादीबाट राजीनामा दिएका थिएनन् ।

पछि रास्वपामा गएपछि माओवादीले पार्टीको जिम्मेवारीबाट हटाएको हो । मिलनलाई जिताउनको लागि रवि लामिछानेले सम्पूर्ण शक्ति लगाएका छन् । रविको इलाम बसाईले पनि काम नगर्ने हल्लाचल्ला चल्न थालेको छ । कतिपयले त गत वर्षको बैशाखमा भएको उपनिर्वाचनमा बारा–२ मा रास्वपाबाट चुनाव लडेका रमेश खरेलले व्यहोरेकोजस्तै हार मिलनले व्यहोर्ने गाईंगुईं चल्न थालेको छ ।

यसले रास्वपाको भविष्यमाथि नै प्रश्न उठाएको भन्दै रविले यो निर्वाचनमा सम्पूर्ण तागत लगाएका छन् । रास्वपाको आकर्षणको केन्द्र मानिएको अर्थशास्त्रीसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेपनि इलामको चुनावमा सक्रियताका साथ लागिपरेका छन् । भोलि बैशाख ११ गते रास्वपाले इलाममा दुई ठाउँमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

रास्वपाको ती दुई ठूला चुनावी सभामा सभापति लामिछाने, उपसभापति वाग्ले, महामन्त्री मुकुल ढकाल, युवा नेता तथा मन्त्री विराजभक्त श्रेष्ठ, नेतृ तथा सांसद सोविता गौतम, प्रमुख सचेतक सन्तोष परियारलगायतले सम्बोधन गर्ने भनिएको छ । भोलिको पहिलो चुनावी सभा आइतबारेमा विहान ११ बजे र दोस्रो सभा दिउँसो ३ बजे कपुरसुकामा हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्