Logo

पर्वतमा विद्यार्थी भर्ना गर्न घरदैलो अभियान



पर्वत, १० वैशाख । पर्वतका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्नाका लागि घरदैलो अभियान सुरु गरिएको छ । जिल्लाका स्थानीय तहले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान नै सुरु गरेका हुन् ।

नयाँ शैक्षिक सत्रका लागि यही वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु भएसँगै पर्वतका सातवटै पालिकाका सामुदायिक विद्यालयले घरदैलो अभियान थालेका हुन् ।

महाशिला गाउँपालिकाकी शिक्षा अधिकृत सविता केसी पौडेलले पालिकामा सञ्चालित सबै विद्यालयले विद्यालय जान उमेरका कोही नछुटुन भन्ने उद्देश्यले घरदैलो अभियान सुरु गरेको बताइन् । महाशिलामा हाल २६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

फलेबास नगरपालिका–४ मुडिकुवाको गहते अम्बोट आधारभूत विद्यालयले आइतबारदेखि घरदैलो अभियान सुरु गरेको छ । विद्यालयले घर र टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम सुरु गरेको विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले बताए । फलेबासको भवानी पिद्यापीठ माध्यमिक विद्यालयले पनि शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक सङ्घका प्रतिनिधि, वडाअध्यक्षलगायतको टोलीसहित घरदैलो कार्यक्रम गरिरहेको प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले जानकारी दिए ।

फलेबास वडा नं ५ मा रहेको ध्रुव नमुना माविले यस वर्षदेखि आवासीय विद्यालयका रुपमा सञ्चालन गर्न थालेको छ । विद्यार्थीलाई खाना, खाजा, आवास, पोशाक, पुस्तक सवै विद्यालयले नै उपलब्ध गराउने भएको छ । यस शैक्षिक सत्रमा नेपालका विभिन्न जिल्लाबाट थप ५० जना विद्यार्थी आवासीय सुविधासहित विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको प्रधानाध्यापक झलक शर्मा पौडेलले बताए ।

जलजला गाउँपालिकाले पनि वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गरेको शिक्षा शाखा अधिकृत यज्ञप्रसाद लामिछाने जानकारी दिए । उनका अनुसार पालिकाका ४४ वटा सामुदायिक र छ वटा निजी विद्यालयले घरदैलो अभियान थालेको उनले बताए । कुनै पनि विद्यार्थी शिक्षा लिनवाट बञ्चित हुन नपरोस् भनेर घरदैलोमै पुग्न थालिएको उनको भनाइ छ ।

कुश्मा नगरपालिकाले पनि भर्नाका लागि घरदैलो अभियान सुरु गरेको नगरप्रमुख रामचन्द जोशीले बताए । पैयूँ गाउँपालिको पनि नयाँ विद्यार्थी थप्ने लक्ष्यका साथ विद्यालयका शिक्षक, कर्मचारीसँगै, व्यवस्थापन समितिका पदाधिकारी पनि भर्ना अभियानमा सक्रिय भइ लागेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । पालिकाका सातवटै वडाका विद्यालय विद्यार्थी भर्ना अभियानका लागि घरदैलो अभियानमा जुटेको उनको भनाइ छ ।

बिहादी गाउँपालिका र मोदी गाउँपालिकाले पनि विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने सङ्कल्पका साथ अभियान सुरु भएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए ।

पर्वतमा भर्ना अभियानलाई सफल बनाउन सबै निकाय लागिपरेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उद्धिमराज पौडेलले बताए । उनले भने, “अभियान सफल बनाउन घरदैलो अभियान जारी छ ।”

पर्वतमा आधारभूत तहका दुई सय १८, माध्यमिक तह ७८ वटा र संस्थागततर्फ २९ वटा विद्यालय छन् । जिल्लाका सामुदायिक र संस्थागत विद्यालय तीन सय २५ वटा विद्यालयमा २६ हजार आठ सय विद्यार्थी अध्ययनरत छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot