काठमाडौं, १० बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई समाजवादको यात्रामा अघि बढाउनको लागि संकल्प गरेका छन् । नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा एमालेले आज (सोमबार) आयोजना गरेको हीरक महोत्सवलाई अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले नेपालका राजनीतिक दलहरुबीच नयाँ समझदारी र एकता कायम गरेर जाँदा नै अहिलेको व्यवस्था सुदृढ हुने विश्वास दिलाए । उनले एमालेसँग ०७४ मा गरेको पार्टी एकताको प्रसंग उठाउँदै फेरि पनि एकता गरेर जान सकिने विश्वास दिलाए । उनले भने,‘अहिले हामी कम्युनिष्ट एकता भन्ने पक्षमा पनि छैनौं । हामी त्यो बेला अलिक बढि हौसिएछौं कि समयभन्दा अगाडि नै दौडिएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले । अहिले राम्रो सहकार्य गरेका छौं ।’
उनले सम्बोधनको अन्तिममा आफूले केपी शर्मा ओलीलाई विश्वास गरेको सुनाए । उनले भने,‘कमरेड केपी ओलीलाई म विश्वास गर्न चाहन्छु, हामी हिजो विश्वास र अविश्वासको चक्रबाट गुज्रियौं । अब फेरि नयाँ प्रक्रियाबाट अगाडि बढौं भन्न चाहन्छु ।’
Photo By: Mukunda Kalikote/ReportersNepal