Logo

उपप्रधानमन्त्री महासेठसँगको भेटमा रसियन चेम्बर अफ कमर्शका अध्यक्ष सेर्गेईले भने : नेपालको विकासमा सबैखाले सहयोग रहन्छ



काठमाडौं, १० बैशाख । रसियाको चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष सेर्गेई क्याट्रिन नेतृत्वको प्रतिनिधिमण्डले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेट गरेको छ । सिंहदरबारस्थित् भौतिक मन्त्रालयमा भएको भेटमा व्यापार तथा व्यवसाय प्रवर्द्धनका साथै नेपालको पूर्वाधार क्षेत्रको विकास र लगानीको विषयमा छलफल भएको थियो ।

भेटमा विकास साझेदारलाई बढावा दिने विषयमा छलफल भएको जनाईएको छ । नेपालको विकासमा रसियाको तर्फबाट सबैखाले साथ र सहयोग रहने कुरा अध्यक्ष सेर्गेईले विश्वास दिलाएका छन् । नेपाल र रसियाबीचको व्यापारको भोलुम अझैपनि सानो रहेको उल्लेख गर्दै उनले सम्भावनाअनुसार अझै व्यापारको भोलुम बढाउन सकिने भनाई राखेका छन् ।

भेटमा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री महासेठले रसियाको उक्त प्रतिनिधिमण्डललाई नेपालमा रसियन लगानी बढाउनको लागि भूमिका खेल्न र प्रोत्साहन गर्न आग्रह गरेका छन् । सो अवरमा उपप्रधानमन्त्री महासेठले नेपालमा यही बैशाख १३ गतेबाट हुने लगानी सम्मेलनमा रसियन लगानीकर्ताहरुलाई भाग लिनको लागि पनि आह्वान गरेका छन् ।

भेटमा नेपालका प्रतिष्ठित उद्योगपति तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो र नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभ पनि सहभागी थिए । उक्त भ्रमण टोलीमा रसियाको मस्को, सेन्ट पिट्सवर्ग र लिप्स्टेकका प्रतिनिष्ठित व्यापारीहरुसहित २० जना सदस्य सहभागी छन् ।

उक्त प्रतिनिधिमण्डलले आजै नेपाल सरकारका उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । यही अप्रिल २५ तारिख भने रसियन प्रनिधिहरुको टोली भारत प्रस्थान् गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot