Logo

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति



विरगञ्ज वैशाख ११ । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा र ५३ लाख ९० रूपैयाँ हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए । ‘सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ’, उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए । आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा १० लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् ।

आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी आठ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित रु चार लाख ८० हजार बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा ११ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी चार लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । अभय सहनी र सात लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको छ लाख २३ हजार बराबरको क्षति भएको छ ।

वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए । यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा रु १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो। रासस



प्रतिक्रिया दिनुहोस्