Logo

आत्मनन्द गुरूले पहिचानको मुद्दा कांग्रेस र तपाईँले मात्रै निश्कर्षमा पुर्याउन सक्नुहुन्छ भन्नुभएको छः डम्बर खड्का (भिडिओसहित)



काठमाडौं, ११ वैशाख । आसन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसले इलाम–२ बाट डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । गत २०७९ को आम निर्वाचनमा पनि कांग्रेसले उनै खड्कालाई उम्मेदवार बनाएको थियो । गत निर्वाचनभन्दा यस पटक इलाम–२ को उपनिर्वाचनको माहोल फरक देखिएको छ । कोशी प्रदेशमा तड्कारो रुपमा देखापरेको पहिचानको मुद्दाको प्रभाव उपनिर्वाचनमा पनि पर्ने धेरैको आँकलन छ । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरु अहिले चुनावी अभियानमा व्यस्त छन् । उनीहरु वस्ती–वस्ती पुगेर आफ्नो पक्षमा माहोल बनाउन लागि रहेका छन् । यसै सन्दर्भमा चुनावी एजेण्डा, जनताले मत दिने आधार र विजयी भएपछि जनताको पक्षमा खेल्ने भूमिकाको बारेमा नेपाली कांग्रेसका उम्मेदवार खड्कासँग पत्रकार ऋषि धमलाले गर्नुभएको अन्तरवार्ताको सम्पादित अंशः

जनताले यस पटक तपाईँलाई किन जिताउने ?

यहाँका जनता, युवाहरु, व्यवसायीलाई अप्ठ्यारो पर्दाखेरी निरन्तर रुपमा मैले सहयोग पुर्याइराखेको छु । गत निर्वाचनमा पनि मलाई विश्वास गरेर २९ हजार नौ सय २० मत प्राप्त गरेको हो । त्यसबेला पनि मलाई विश्वास गर्नु भएको थियो । यसबेला पनि मलाई विश्वास गर्नुहुनेछ भन्ने लागेको छ । मैले जन्मिएदेखि यतिका उमेरसम्म, हिजो पञ्चायती व्यवस्थामा २०४६ सालमा जेलनेल भोगेँ । पञ्चायती व्यवस्थाले जनतालाई दुःख दिएको थियो । त्यसको विरुद्ध पनि म लडेँ । २०६२÷०६३ को आन्दोलनमा पनि म सहभागी भएँ । त्यो आन्दोलनमा पनि भाग लिएँ । निरन्तररुपमा म लोकतन्त्रका लागि लड्दै आएको छु । इलाममा बसेर जतिपनि अप्ठ्यारोका कुराहरु, विकास निर्माण, मठमन्दिर निर्माण, खेलकुद, कोरोनाको महामारी, बाढी, पहिरो, भूकम्पजस्ता विपद्का कार्यहरुमा मैले निरन्तर रुपमा इलाममा बसेर सहयोग गरेको हुनाले उहाँहरुले नै मलाई विश्वास गरेर पहिला पनि तपाईँ चुनावमा उठ्नुपर्छ भनेको हो । यसपाली पनि गाउँ–गाउँमा जाँदा तपाईँले यहाँ अत्याधिक दुःख गर्नु भएको छ, तपाईँलाई अन्याय परेको छ, चुनावमा उठ्नुस्, हामी जिताउँछौं भन्नुभएको छ । मलाई विश्वास छ, जिताइदिनुहुन्छ ।

अहिल्लो निर्वाचनमा तपाईँ ‘हेभी वेइट’ उम्मेदवारबाट पराजीत हुनुभयो । अहिले आएर तपाई उहाँकै छोरा सुहाङ नेम्वाङसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अन्य उम्मेदवारहरु पनि हुनुहुन्छ । तपाईँलाई नै किन रोज्ने ?

अहिले रोज्दाखेरी राजनीतिक परिपक्वता, विकास निर्माण सम्बन्धी ज्ञान भएको परिपक्वता र मैले दिनानुदिन इलामेली जनताको सेवा गरेको, यी तीन वटा कुराहरुले चाहीँ मलाई रोज्नुहुन्छ ।

इलाममा विकास भएन । यहाँका जनताहरुले सेवा सुविधा पाएनन् । उद्योगधन्दा सञ्चालन भएनन् । इलामबाट पनि युवाहरु विदेशिने संख्या उल्लेखनीय छ । पहिलाको निर्वाचन र यसपाला तपाईँ गाउँघरमा जाँदा किन मतदान गर्ने भन्ने प्रश्न त गरे होलान् ?

हामीहरु चुलाचुली जाँदैगर्दा जनताले मलाई के प्रश्न गरे भन्दा ‘यो चुलीको बाटो बनिन्छ कि बनिँदैन ? अलिकति माथि स्वास्थ्य चौकीमा जाँदैगर्दा ‘यो कुहिन आँटेको ढोका फेरिन्छ कि फेरिँदैन ?’ त्यहाँदेखि अलिमाथि जाँदा मकै बारी सुकिरहेको थियो । त्यहाँका जनताले ‘यहाँ सिचाइँ कहिले आउँछ ?’ अलिमाथि जाँदा खानेपानीको समस्या थियो । ‘खानेपानी कहिले आउँछ ?’ भनेर प्रश्न गरे । हामीले ३०औं वर्षदेखि एउटै नेता र एउटै पार्टीलाई विश्वास गर्यौं । तर, उहाँले हामीलाई आश्वासनमात्रै दिनुभयो । तपाईँबाट पनि आश्वासनमात्रै हुन्छ कि काम हुन्छ ? तपाईँलाई हामी आशा होईन, भरोसा गर्छौं । त्यसकारण यसपाली मत दिन्छौं भन्नुभएको छ । इलाममा हामीले छातीमा हात राखेर भन्नुपर्छ २६औं वर्षसम्म जितेर जाँदा पनि २० करोड रुपैयाँको योजनासम्म परेका छैनन् । विकास निर्माणमा २ नं क्षेत्रका बासिन्दाहरु अन्यायमा परेका छौं । विकास निर्माणको निमित्त पनि तपाईँले जित्नुपर्छ । विकास निर्माण हुँदैभएन । अब गर्ने तपाईँले हो, तपाईँलाई हामी विश्वास गर्छौं भन्ने कुराहरु राख्नु भएको छ ।

नेपाली कांग्रेसप्रति जनताका धेरै गुनासा छन् । कांग्रेस धेरै पटक सत्तामा गयो, नेतृत्व गर्यो । तर, कांग्रेसले देशको विकास गर्न सकेन । राजनीतिक स्थायित्व र विकास आजका मुख्य एजेण्डा हो । जनताका धेरै प्रश्नहरु छन् । अब कांग्रेसले केही गर्न सकेन भन्ने कुरा तपाई स्वीकार गर्नुहुन्छ ?

कसै–कसैले गरेको गल्ती, अपराध होलान् । त्यो सबैले गर्दैन । त्यसैले हामीजस्तो फ्रेस मान्छे गएपछि सच्याउँछौं । हामीहरु भ्रष्टाचारको विरुद्धमा आफैं आवाज उठाउँछौं । कांग्रेसका केही गल्ती रहेछन् भने पछि सच्याउने पक्षमा जान्छौं । त्यसैले अब व्यक्तिले हिजोको दिनमा कति राम्रो काम गर्यो र अबका दिनमा कति राम्रो गर्नसक्छ भन्ने हेर्नुपर्छ । म भ्रष्टाचारीको विरुद्धमा लाग्नेछु । हिजोको दिनमा गलत गर्नेहरुलाई कांग्रेसले कारबाही गरेर देखाएको छ । अहिलेका नयाँ दलहरुले गलत गर्ने कसलाई के कारबाही गरेका छन् ? कांग्रेसले आफ्नै सरकार हुँदा गलत गर्ने आफ्नै नेतालाई कारबाही गरेको छ । अहिले भन्नेमात्रै हो, गरेका छैनन् नि अन्य पार्टीले ।

तपाईँका प्रतिस्पर्धीहरुलाई पराजीत गर्ने आधार छ ?

पहिचानको मुद्दा मैले आफैंले बोकेको छु । एक वर्षअघि धर्मगुरु आत्मनन्द लिङ्देनज्यूलाई मैले नागरिक अभिनन्दन गरेँ । किन भनेर उहाँले जगत कल्याणका निमित्त र किरात धर्म प्रचार प्रसार गर्नुभयो । उहाँ सम्मानित व्यक्ति हुनुहुन्छ भनेर मैले उहाँलाई नागरिक अभिनन्दन नेपाली कांग्रेसको तर्फबाट गरेँ । उहाँले मलाई भन्नुभयो– नेपाली कांग्रेसले २००७ सालमा राणा शासनको अन्त्य गर्यो । ०४६ मा पञ्चायती व्यवस्थालाई समाप्त पार्यो । तपाईँहरुले ज्ञानेन्द्रको शासनलाई अन्त्य गराउनु भयो । शान्तिवार्ता सफल गर्नुभयो । संविधान निर्माण गर्नुभयो । यी महत्वपूर्ण कार्य गर्नुभएको छ । पहिचानको मुद्दा पनि १ नम्बर प्रदेशमा उठेको छ । त्यस कारण कांग्रेसले नै यसलाई अगाडि बढाओस् । यो सम्बन्धि तपाईँले काम गरेर १ नं प्रदेशवासीले चाहेका कुराहरु तपाईले, कांग्रेसले सम्बोधन गर्न सक्छ । यसलाई अगाडि बढाउनुस् भनेर भनिसकेपछि मैले १ नम्बर प्रदेशभरीका सभापतिहरुलाई बोलाएर मिटिङ राखेर यो पहिचानवादी साथीहरुको माग सही छ । पुनर्विचार गरिनुपर्छ भनेर प्रेस विज्ञप्ति निकालेर पार्टीलाई दवाब दिन केन्द्रमा मैले पठाएँ । केन्द्रमा पठाएपछि हाम्रा सभापतिज्यूले मुख्यमन्त्री केदार कार्कीलाई फोन गरिदिएर, हाम्रा प्रदेश सांसदले पनि त्यहा दवाब दिएपछि तीन–तीन वटा वार्ता भएको छ । त्यो वार्ता निश्कर्षमा पुग्नसक्ने अवस्था छ । अहिले पनि त्यो वार्ता चलिरहेको छ । पहिचानको मुद्दा त नेपाली कांग्रेसले समर्थन गरेकै छ ।

पहिचानवादी पार्टी होईन रे नेपाली कांग्रेस ? यो बाहुन क्षेत्रीको पार्टी हो रे । कोशी प्रदेशका पहिचानवादीको प्रश्न छ नि त ? आन्दोलन हुँदा तपाईँहरु कहाँ हुनुहुन्थ्यो ? किन दमन गर्नुभयो ?

आन्दोलनमा नेपाली कांग्रेसले दमन गरेन, कहीँ पनि र कहिले पनि विरोध गरेन । अहिले पनि पहिचानवादीको आन्दोलनमा हाम्रो समर्थन छ । यसलाई दवाउने भनेको त यहीबाट कोशी प्रदेशमा जितेर जानुभएका राम रानाले कोशी प्रदेश नामाङ्कनका लागि प्रपोजल राख्नु भएको हो । हामीले राखेको पनि होईनौं । दवाउ खोज्ने र नामाङ्कनको प्रस्ताव राख्ने भनेको नेकपा (एमाले) हो । सबैलाई प्रष्टै थाहा छ । एमालेका अध्यक्ष आउँदा हरेक ठाउँमा विरोध र प्रतिकार भइरहेको छ । तपाईँहरुले देखिरहनु भएको छ । हामीले उहाँहरुले उठाएको माग जायज छ भनेर लिखित रुपमा राखेका छौं । त्यो सम्बोधन गर्नुपर्छ, पुनर्विचार गर्नुपर्छ भनेर हामीले भनेका छौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot