Logo

लिखितम् दिनुपर्छ भनेपनि दिन तयार छु, इलाम-२ मा चुनाव जित्छौंः विश्वप्रकाश शर्मा



काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम–२ को उपनिर्वाचनमा डम्बर खड्काको पक्षमा परिणाम आउने ठोकुवा गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस एक ढिक्का भएर चुनावी अभियानमा लागेको र उम्मेदवार खड्काको पक्षमा परिणाम आउने ठोकुवा गरेका हुन् । उनले आफू कांग्रेसको पक्षमा परिणाम आउनेमा लिखितम् गरेर दिन पनि तयार रहेको बताए ।

‘कांग्रेस एक ढिक्का छ । कांग्रेसको पक्षमा परिणाम आउँछ । तपाईँलाई मैले लिखितम् दिऊँ या मौखिकमै टुङ्ग्याउँदा हुन्छ ? लिखितम् दिनुपर्छ भने म लिखितम् दिन्छु,’– उनले भने ।

विगत ३० वर्षमा इलाममा हुन बाँकी धेरै काम भएपनि पर्याप्तमात्रामा सुधार भएको उनको दाबी छ । महामन्त्री थापाले इलाममा विकास हुन नसक्नुको जिम्मेवारी कांग्रेसले पनि लिनुपर्ने बताए । उनले ०६२/०६३ पछि एमाले १० औं पटक सरकारमा पुगेको र आफूहरु ८ पटक सरकारमा गएको कुरा बताउँदै इलामको असफलताको जिम्मेवारी एमालेले पनि लिनुपर्ने बताए ।

इलाममा धेरै गर्न बाँकी रहेको र कांग्रेससँग इलामको विकासको स्पष्ट भिजन रहेको उनको भनाइ छ । कांग्रेसले महामन्त्री शर्मालाई इलाम–२ उपनिर्वाचनको कमाण्डर बनाएर खटाएको छ । आगामी वैशाख १५ मा प्रतिनिधि सभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot