Logo

कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै, रणसिंह बन्दैछन् माओवादीबाट विनाविभागीय मन्त्री



काठमाडौं,१२ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। उनले माओवादी केन्द्र र नेकपा एमालेबाट एक–एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्।

मन्त्रालय भागबण्डा नमिल्दा दुई सातासम्म मन्त्रिपरिषद् गठन नगर्न नसकेका कँडेलले माआवादी केन्द्रबाट रणसिंह परियार र एमालेबाट एकजनालाई मन्त्री नियुक्त गर्न लागेका हुन्। तर, एमालेबाट सरकारमा को जाने भन्ने नाम टुंगो लागिसकेको छैन।

बुधबार बिहान बसेको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो।

परियारको मन्त्रालयको भने टुंगो लागिसकेको छैन। उनलाई तत्कालका लागि बिनाविभागीय मन्त्रीका रूपमा माओवादीले सरकारमा पठाउन लागेको हो।

यस्तै दलको बैठकले बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । कँडेलले भोलि प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

२ साता अघि मुख्यमन्त्री नियुक्त भएका कँडेलले मन्त्रालयको भागबन्डा मिलाउन नसक्दा मन्त्री नियुक्त गर्न सकेका थिएनन् । मंगलबार माओवादी र एमालेबीच भएको वृहत्त छलफलमा मन्त्रालयको भागबन्डा पनि मिलेको छ ।

जस अनुसार माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्