काठमाडौं, वैशाख १३ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । बैठकले सरकारको १६ औँ योजनालाई अन्तिम रूप दिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा अहिले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म बस्ने बैठकमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् ।
बैठकको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौँ योजनाको मस्यौदा प्रस्तुत गर्ने छन् । त्यसपछि बैठकमा सहभागीहरूले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने छन् ।