Logo

शेखर कोइरालाको प्रश्नः सहकारी ठगी छानविनका लागि संसदीय समिति बनाऔं भन्दा डराउने कस्तो गृहमन्त्री ?



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउन डराइरहेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले कांग्रेसका मन्त्रीहरु बरु झण्डा हल्लाएरै भएपनि बयान दिन गएको बताए ।

साथै, सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म कांग्रेसले आगामी संसद् चल्न नदिने उनको भनाइ छ । ‘कांग्रेसले प्रष्ट भनेको छ, संसदीय छानविन समिति नबनाई संसद चल्न दिँदैनौं । संसदीय छानविन समिति बनाऔं भन्दा डराउने गृहमन्त्री कस्तो गृहमन्त्री होला ? हाम्रा मन्त्री त गएत झण्डा हल्लाएर । पर्छन् भने पर्छन् नि भोलि,’– उनले भने ।

सहकारीको रकम करोडौंमा नभएर अर्बौंमा अपचलन भएको उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाका श्रेष्ठको अडिओ काण्ड आउँदा तुरुन्तै कारबाही गरेको स्मरण गराउँदै उनले अर्बौं ठगीमा रवि लामिछाने संलग्न हुँदासमेत उक्त पार्टीले कारबाही नगरेको टिप्पणी गरे । रवि लामिछाने मुछिएको उक्त मुद्दामा संसदीय समिति बनाएर छानविन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत डराएको उनको टिप्पणी छ ।

‘उहाँहरुको पार्टी देखिइसकिएको छ । ढाका श्रेष्ठको अडिओ आउँदा तुरुन्तै निकालेको होईन ? म त पहिला करौडौं रुपैयाँ होला भन्थेँ । अब त अर्बौं रुपैयाँको रहेछ । अनि छानविन समिति बनाऔं भन्दा उहाँ डराउने ? प्रचण्डजी र ओलीजी डराउने ? यस्तो पनि चल्छ ?’ उनले प्रश्न गरे ।

अहिले सत्तापक्षमा रहेकाहरु नै वर्तमान सत्ता गठबन्धन फुटाउन लागि परेको उनको आरोप छ । आफूहरुको चाहना भने कांग्रेस एमालेको सरकार बनाएर संविधानमा रहेका अप्ठ्याराहरुमा समाधान खोज्न आवश्यक रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot