Logo

नेपालले जापानको विकासबाट सिक्नुपर्छ : ऋषि धमला



काठमाडौं, १६ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नेपालले जापानको विकासबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन् । धादिङ समाज जापानले आफ्नो स्वागत तथा सम्मानको लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समाजका अध्यक्ष श्यामहरि तिमल्सिनाको अध्यक्षतामा आयोजित उक्त समारोहलाई सम्बोधन गर्दै पत्रकार धमलाले जापानमा नेपालीहरुको प्रगतिबाट आफू प्रभावित भएको बताए । उनले भने,‘नेपालले जापानबाट धेरै कुरा सिक्नुपर्छ । यहाँको विकासबाट हामीले सिक्नुपर्छ । नेपालीले जापानमा गरेको मेहनतप्रति मेरो सम्मान छ । नेपालीहरुले गरेको प्रगति लोभलाग्दो छ ।’

सो क्रममा उनले जापानमा बसेका नेपालीहरु देश तथा विदेशमा सफल भएको पनि सुनाए । उनले यसअघि जापानलाई कर्मथलो बनाएका डिपी अर्याल अहिले नेपाल सरकारको श्रममन्त्री बनेको र जापानमा व्यवसाय गर्ने भवन भट्ट विश्वभरि छरिएर रहेका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय अध्यक्ष बन्न सकेको भन्दै उदाहरण दिएका थिए ।

जापानले ५० वर्षमा विकासको गति बढाएको र आज यो स्थानमा आईपुगेको भन्दै जापानको विकासको शैलीबाट नेपालले सिक्नुपर्ने धमलाको भनाई छ । जापानीहरु असाध्यै मेहनती र इमानदार भनेर चिनिएको र नेपालीहरुको पनि चिनारी उस्तै रहेकोले नेपालको विकास सम्भव रहेको उनको भनाई छ । उनले भने,‘यहाँ जापानीहरु २० घण्टा काम गर्छन् । कसैको पनि आलोचना गर्दैनन् । यो देश यहाँको नागरिकको कडा मेहनत र श्रमले बन्यो ।’

जापानमा बस्ने नेपालीहरुको समस्या समाधानको लागि आफू गम्भीर रहेको धमलाको भनाई थियो । उनले भने,‘म यहाँका नेपालीहरुको मुद्दाप्रति गम्भीर छु । समस्या छ भने म समाधानको लागि तयार छु ।’ कार्यक्रममा गैरआवसीय नेपाली संघका सचिव पारसमणि पोखरेल, जापानका लागि पर्यटनदूत रामहरि पुडासैनी र समाजका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन समाजका महासचिव विजय सडौलाले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot