Logo

छ सय परिवारका लागि लिफ्ट आयोजना



त्रिशूली (नुवाकोट), १७ वैशाख । तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुुरु भएको छ ।

विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को शिलान्यास गरेसँगै काम अघि बढाइएको हो । विदुर नगरपालिका–५ स्थित तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दूरीमा पर्ने विदुर–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकांक्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

“पानीको चरम समस्या र मुहान अभावले व्यवस्थापनमा देखिएको चुनौतीलाई लिफ्ट सिँचाइ योजनामार्फत समाधानको प्रयासमा लागेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “बहुवर्षीय योजनामार्फत काम गरिने भएकाले आवश्यक थप बजेटको सुनिश्चितता र गुणस्तरीय काम गराउन नगरले पहल गर्नेछ ।”

खानेपानी तथा सरसफाइ डिभिजन नं २ धादिङमार्फत कार्यान्वयन गराउन लागिएको उक्त योजनामा चालु आर्थिक वर्षमा एक करोड बजेट प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अच्युतम राजभण्डारीले जानकारी दिए ।

आगामी असार मसान्तसम्ममा नुवाकोट (विदुर–२ दरबार क्षेत्र) मा दुईलाख क्षमताको मुख्य वितरण ट्याङ्कीसहित एङ्गल ब्लक, पम्पघर, वेल्डिङ र समवेलको काम पूरा गर्ने कार्यदेश रहेको छ । यसका लागि बागमती प्रदेस सरकारबाट ८७ लाख १८ हजारसहित उपभोक्तामार्फत नौ लाख ६८ हजार बराबरको श्रमदानको काम हुनेछ ।

उक्त योजना सम्पन्नपश्चात् विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रका ६ सय घरधुरी लाभान्वित हुनेछन् । आयोजना पूरा गर्न १२ करोड लाग्ने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot