Logo

मौलिकता संरक्षणमा व्यास नगरपालिका



डुम्रे (तनहुँ), १७ वैशाख । चार वेद अठार पुराणका रचयिता भगवान् वेदव्यासको जन्मभूमिबाट नै नामकरण भएको व्यास नगरपालिका मौलिकता संरक्षणमा जुटेको छ । नगरपालिकाभित्रको मौलिकता संरक्षणका लागि ‘व्यास नगर प्रज्ञासभा’ गठन गरेको छ ।

व्यास नगर प्रज्ञासभा प्रतिष्ठान ऐन २०७९ अनुसार विसं २०८० चैत २२ गते बसेको नगरपालिकाको कार्यापालिका बैठकबाट ‘व्यास नगर प्रज्ञासभा’ गठन गरी मौलिकता संरक्षणलाई प्राथमिकताका साथ अघि बढाउन लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिकाभित्रको मौलिकता संरक्षणमा सम्बद्ध सम्पूर्ण विधालाई समेटेर प्रज्ञासभा सदस्य मनोनयन गरी नगरपालिकाको मौलिकता संरक्षण र प्रवद्र्धनमा जुट्नुपर्ने आवश्यकता रहेकाले पूर्णता दिने दायित्व पूरा गर्ने तयारीमा जुटेको उनले बताए ।

व्यास नगरअन्तर्गत सांस्कृतिक, कला, पुरातत्वलगायतका विषयको संरक्षण एवं प्रवद्र्धन गर्न सभाले भूमिका खेल्ने उनको भनाइ छ । उनका अनुसार सभाका सदस्यले नगरपालिकाको मौलिकताको संरक्षणका लागि सोध, खोज र अनुसन्धान गरी धार्मिक, ऐतिहासिक विषयलाई समेटेर आगामी आर्थिक वर्षको बजेटमा व्यवस्थापन गरिनेछ ।

नगर प्रमुख न्यौपानेले भने, “नगरपालिकामा बनेका कङ्क्रिटका घर होइन यहाँको लोक कला, संस्कार, संस्कृति जस्ता मौलिकतालाई आर्थिक पाटोसँग जोड्ने प्रयास गर्नेछौँ । यसले नै पर्यटक आकर्षित गरी आयस्तर वृद्धि गर्न सकिनेछ । यसमा प्रज्ञासभा सदस्यले भूमिका खुल्नुहुनेछ ।”

सभाका सदस्यको सहयोगमार्फत् नगरपालिकाभित्रका सांस्कृतिक, धार्मिक, कला, साहित्य, संस्कार, संस्कृति, इतिहास, पुरातत्व लगायतका मौलिकताको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने नगर प्रमुख न्यौपानेको विश्वास छ । नगरपालिकाभित्रका अति लोपोन्मुख हुन लागेका जाति, संस्कार, संस्कृति, क्षेत्रको शोध तथा अनुसन्धान गरी उक्त क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा विकासका लागि बजेट प्रस्ताव गर्न पाउने प्रावधान रहेको उनले जानकारी दिए ।

प्रज्ञासभा सदस्यले छनोट गरेका विषयलाई नगर कार्यापालिकाको बैठकमा प्रस्ताव गरी बजेट व्यवस्थापन गर्ने व्यवस्था रहेको छ । सोही अनुसार छनोट भएको विषयको विकास, प्रवद्र्धन र पर्यटकलाई आकर्षित गर्ने वातावरण तय गर्न सकिने प्रावधान ऐनमा रहेको छ ।

प्रज्ञासभा सदस्यले लोपोन्मुख संस्कृति संरक्षण, नगरपालिकाभित्रको साहित्य, संस्कृतिको परिचय पुस्तिका, साहित्यिक गतिविधि, मठ मन्दिर, गुम्बा, चैत्य, देउराली, ऐतिहासिक क्षेत्र, पर्यटन क्षेत्र, चाड, पर्व, संस्कार, संस्कृति, नाच, नचरी, खाना, वेषभूषा, गीत, गजल, भजन, चलचित्र, अनलाइन, वेबसाइट, व्यासभित्रका प्राज्ञ/विज्ञ जो स्वदेश विदेशमा कार्यरत छन् तिनको पहिचान गरी सहायता लिनुपर्ने सुझाव दिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार मानव बस्ती, लोककला संस्कृति, लोक कला सङ्ग्रहालय, व्यास नगरभित्रका अनुसन्धानकर्ता लेखक, सर्जकका सिर्जना र कृतिको खोजी सङ्कलन, भाषा शिक्षण प्रशिक्षण, साहित्य र कलाको विकासका लागि प्रशिक्षण, व्यास ऋषिको कृति र योगदान, वृत्तचित्र, पुरातात्विक विषयको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने गरी योजना बनाउने भूमिका प्रज्ञा सभा सदस्यले निर्वाह गर्नेछन् । नगरपालिकाले ३५ जना प्रज्ञा सभा सदस्य नियुक्त गरेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot