Logo

दाङको मेट्रो कलेजका विद्यार्थीले बनाए विभिन्न परिकार



तुलसीपुर, १७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका विद्यार्थीहरूले छुप्री र बिस्कुटलगायत विभिन्न परिकार बनाएका छन् ।

विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासका क्रममा छुप्री, गुदपाक, बिस्कुट, किम्बुको जाम, रसवरी, अचार, कोदोको मःम लगायतका परिकार बनाएका खाद्य प्राविधिक जुनु भट्टराईले जानकारी दिए ।

विद्यालयकी छात्रा सीमा नेपाली किताबमा पढेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नका लागि विभिन्न परिकार बनाएका बताउँछन् । उनी भन्छन्,“बिहान पढ्ने र दिनभर परिकार बनाउने काम गर्छौ । यसकार्यले किताबी ज्ञानलाई व्यवहारमा उतार्न सघाउ पुगेको छ ।” परिकार उत्पादनका साथै उत्पादीत परिकारलाई बजारीकरण गर्ने सीपसमेत सिकाइ हुने भएकाले पढाइपछि आत्मनिर्भर बन्न पनि सहयोग हुने नेपालीको बुझाइ छ ।

कलेजका खाद्य प्राविधिक भट्टराईले विद्यार्थीले प्रयोगात्मक अभ्यासका क्रममा उत्पादित परिकारको गुणस्तर मापन र बजारीकरणका लागि प्रदर्शनसमेत गरिरहेका बताए । आइतबार पनि ति परिकारहरू प्रदर्शन गरिएका थिए ।

परिकार अवलोकनपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बजारको आवश्यकताअनुसार रैथाने परिकार उत्पादन गर्न जरूरी रहेका बताएका थिए । उनले विद्यार्थीको मेहनतका लागि धन्यवाद् दिँदै यस्ता यस्ता कार्यमा नगरपालिकाको सधैँ साथ रहेनसमेत बताए ।

त्यस्तै, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले पछिल्लो समय अधिकांश उपभोक्ताले अर्गानिक खाना तथा परिकार खोजिरहेकाले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरी गुणस्तरहीन खाद्यवस्तु स्वस्थ हुनुपर्ने भएकाले परीक्षण गरेर मात्रै बजारीकरण गर्नुपर्ने बताउँछन्

तुलसीपुर उपमहानगरपालिका उपभोक्ताहित संरक्षण शाखा प्रमुख रेखा शर्माको पनि त्यस्तै भनाइ छ,“उत्पादित वस्तुको खाद्य स्वच्छता मापन गरेरमात्रै बजार पठाउनुपर्छ । यसकार्यमा नगरको सहयोग रहन्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot