बेइजिङ, १८ वैशाख । चीनको कारखाना गतिविधि अप्रिलमा लगातार दोस्रो महिना बढेको छ । मङ्गलबारको तथ्याङ्कले कमजोर घरेलु माग र खराब रियल स्टेट क्षेत्रसामु विशाल अर्थतन्त्रलाई गति दिन सङ्घर्ष गरिरहेका अधिकारीहरूलाई केही राम्रो समाचार प्रदान गरेको छ ।
राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबिएस) ले कारखाना उत्पादनको प्रमुख मापन पर्चेजिङ मेनेजर्स इन्डेक्स (पिएमआई) ५० दशमलव चारमा आएको छ । यो विस्तार र सङ्कुचनलाई अलग गर्ने ५० को स्तरभन्दा थोरैले बढीले हो । मार्चदेखि नै पिएमआई घटेका बेला उक्त तथ्याङ्कले ब्लुमबर्गका विश्लेषकहरूको ५० दशमलव तीनको पूर्वानुमानलाई पछाडि पारेको र सन् २०२३ को अन्त्यमा सुरु भएको पाँच महिनाको मन्दीपछि वृद्धिको निरन्तरतालाई देखाएको छ ।
सन् २०२२ को उत्तरार्धमा कठोर कोभिड नियन्त्रण कदमहरूपछि अधिकारीहरूले आर्थिक पुनरुत्थानलाई बढावा दिन सङ्घर्ष गरिरहेका छन् । चीनले आफ्नो ऋणमा डुबेको रियल स्टेट बजारमा सङ्कटको सामना गरिरहेको छ । हालैका महिनाहरूमा घरको मूल्यमा गिरावट आएको छ भने खुद्रा बिक्री खराब घरेलु मागबाट प्रभावित भएको छ ।
यसैबीच विश्वव्यापी मन्दीका कारण विदेशमा मुलुकको उत्पादनको माग कमजोर भइरहेको छ । “उत्पादन क्षेत्र लगातार सुधार र वृद्धिको अवस्थामा छ”, एनबिएसले एक विज्ञप्तिमा भनेको छ ।
बेइजिङले मार्चको प्रारम्भमा सन् २०२४ मा पाँच प्रतिशत वार्षिक वृद्धि हासिल गर्ने आफ्नो लक्ष्य घोषणा गरेको थियो । उक्त लक्ष्यलाई धेरै अर्थशास्त्रीले महत्त्वाकांक्षी मानेका छन् । अधिकारीहरूले हालैका महिनाहरूमा पूर्वाधार खर्च बढाउन र आर्थिक गतिविधिलाई पुनर्जीवन दिन मिश्रित परिणामहरूका साथ लक्षित उपायहरूको शृङ्खला र सार्वभौम बन्ड जारी गर्ने घोषणा गरेका छन् ।
सेवा क्षेत्रको गतिविधिको मापन गर्ने चीनको गैर–उत्पादक पिएमआई अप्रिलमा ५१ दशमलव दुईमा आएको छ । यो मार्चको ५३ र पूर्वानुमानभन्दा कम हो ।
आधिकारिक तथ्याङ्कअनुसार चीनले गत वर्ष पाँच दशमलव दुई प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ । महामारीका वर्षहरूका अतिरिक्त सन् १९९० को दशकपछि सबैभन्दा कम विस्तारको प्रतिनिधित्व गरे पनि यसलाई धेरै अर्थशास्त्रीले अत्यन्त धेरै मानेका छन् । रासस