Logo

आफ्नै लागि ‘प्रतिउत्पादक’ बनेको इलाममा गगनको त्यो ‘भाषण’



काठमाडौं,१८ वैशाख । गत वैशाख पहिलो साताका केही दिन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा इलाममा रहे । १५ गते हुँदै गरेको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेका डम्बर खड्काको पक्षमा भोटमाग्न इलामका गाउँबस्तीमा पुग्नेक्रममा उनी केही दिन इलाममा बसे ।

वैशाख ८ गते कांग्रेसले इलाम २ अन्तर्गतको लाँकुरिचौरमा चुनावी कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रमका प्रमुख अतिथि थिए थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा । थापा अघिल्लो दिन इलाम पुगेका थिए भने शर्मा पार्टीको चुनावी कमाण्डर बनेर सातादिन अघिनै इलाम झरेका थिए । लाँकुरिचौरमा भएको आमसभामा थापाले चर्कोस्वरमा भाषण गरे ।

चर्कोस्वरमा भाषण गरेका थापाले इलाम २ मा कांग्रेसका उम्मेदवारले किन जित्नुपर्ने, खड्काले जितेमा इलामको विकासमा के टेवा पुग्छदेखि लिएर विपक्षी उम्मेदवारबारे पनि लामै टिप्पणी गरे । विषेशत: एमालेका उम्मेदवार सुहाङ नेम्वाङप्रति । एमालेले उपनिर्वाचनमा उम्मेदवार बनाएका सुहाङ नेम्वाङप्रति चर्को कटाक्ष गरेका थापाले इलामबाट एमालेले राजतन्त्रको झल्को दिएको टिप्पणी गरे ।

एमालेबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनमा एमालेले स्वर्गीय सुवासपुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेले सुहाङलाई उम्मेदवार बनाएपछि थापाले एमालेले वंशवादलाई प्रसय दिएको भन्दै चर्को भाषण गरे ।

‘सुवास नेम्वाङलाई इलामले आफ्नै ढंगले सम्झेला, उहाँलाई संविधानसभा अध्यक्षदेखि एमालेसँग संवाद हुँदा दोस्रो तहमा सबैभन्दा धेरै संवाद भएको नेताको रुपमा पनि म सम्झन्छु । म अहिले पनि उहाँलाई सम्मान गर्छु । उहाँको महत्वपूर्ण विचार भनेको नेपालमा गणतन्त्र आवश्यक छ भन्ने नै हो । गणतन्त्रको अर्थ कुनै कुलमा जन्मिएको आधारमा, कसैको छोराछोरी भएको आधारमा, कसैले केही कुरा प्राप्त गर्छ भने त्यो गणतन्त्र होइन । उहाँलाई आजको दिनमा पनि मैले यसरी मान्छु, सायद उहाँ भएको भए पनि उहाँले भन्ने कुरा यही हुन्थे होला । कुनै व्यक्तिले राजनीति नै गरिरहेको छ, आफ्नो मेहनतको आधारमा राजनीति गरेर हिँडेको छ, पार्टीको कार्यकर्ता नै छ भने कसैको परिवार भनेर आफूले पाउने अधिकारबाट वञ्चित हुन हुँदैन । तर, कोही कसैको परिवारमा जन्मिएको आधारमा, कुल र वंशको आधारमा सिंगो देश गणतन्त्रमा गएको बेलामा के इलामले राजतन्त्र खोजेको हो, त्यसको उत्तर इलामले दिनुपर्छ । गणतन्त्रको पक्षमा मत हाल्ने कि राजतन्त्रको पक्षमा मतदान गर्ने भन्ने सोच्नुपर्छ’ थापाले भनेका थिए ।

इलाममा वंशवाद र राजतन्त्रको बारेमा चर्को वकालत गरेका थापाले बझाङ उपनिर्वाचनमा पार्टीका उम्मेदवारबारे ख्यालै गरेनन् । इलाम २ सँगै बझाङ प्रदेश सभा १ मा पनि १५ गतेनै उपनिर्वाचन हुँदै थियो । सो निर्वाचनमा कांग्रेसका उम्मेदवार थिए, अभिषेकबहादुर सिंह । अभिषेक गत वर्ष प्रदेश सभामा निर्वाचित पृथ्वीबहादुर सिंहका छोरा हुन् । पृथ्वीको गत असारमा सडक दुर्घटनामा परेर निधन भएपछि सो क्षेत्रमा चुनाव हुँदै थियो । र, कांग्रेसले उनै पृथ्वीपुत्र अभिषेकलाई टिकट दिएको थियो ।

इलाममा ०५६ सालदेखि निरन्तर चुनाव जित्दै आएका र राष्ट्रिय राजनीतिमा सर्वमान्य नेताको छवि बनाएका सुवासचन्द्र नेम्वाङको विरासत, व्यक्तित्व र इलामको वाम किल्लाबारे गगन जानकार नै थिए । तर, त्यो कुनैपनि कुराको ख्याल उनले गरेनन् । मात्र सुहाङलाई उम्मेदवार बनाएर एमालेले वंशवादलाई प्रसय दिएको मात्र देखे । थापाले मात्र होइन् इलाम २ बाट उममेदवार रहेका खड्काले त चुनावी एजेण्डानै सोही विषयलाई बनाएका थिए । ‘न अवसरवाद, न त वंशवाद मात्र सेवाभाव’ र ‘मर्दापर्दा डम्बर खड्का’ कांग्रेसको चुनावी नारा नै थियो ।

कांग्रेसले इलाममा सुहाङबारे उठाईरहेको प्रश्न एमालेले बझाङमा कांग्रेसतिरै तेर्‍सार्यो अर्थात बझाङमा बावुको विरासत जोगाउन उनकै छोरालाई टिकट दिएको भन्दै प्रचार भयो । इलामका जनताले गगनको भाषण नपत्याए पनि बझाङका जनताले एमालेको प्रचारलाई पत्याईदिए । इलाममा वंशवाद नै सहि एमालेका उम्मेदवार नेम्वाङ अनुमोदन भए बझाङमा कांग्रेसका सिंह पराजित ।

नेपालमा बहुदल स्थापनापछि भएका कुनैपनि उपनिर्वाचनमा परिवारका सदस्य हारेको रेकर्ड थिएन । मदन भण्डारीको निधनपछि विद्या भण्डारी, ऋषिप्रसाद शर्माको निधनपछि कमला शर्मा, रवीन्द्र अधिकारीको निधनपछि विद्या भट्टराई, हरि खड्काको निधनपछि चम्पादेवी खड्का, उत्तरकुमार ओलीको निधनपछि विमला ओलीदेखि सुवासचन्द्र नेम्वाङको निधनपछि सुहाङसम्म आईपुग्दा अभिषेक एकमात्रै पराजित उम्मेदवार बन्न पुगे ।

उपनिर्वाचनमा परिवारका सदस्यले सदैव जितिरहेको सन्दर्भमा बझाङमा कांग्रेस परजित हुँदा भने कतिपयले गगनको इलामको भाषण बझाङमा आफ्नै लागि प्रतिउत्पादक बनेको टिप्पणी गर्न थालेका छन् ।

यता चुनावी प्रचारका क्रममा थापाले इलाम-२ मा राजतन्त्र रोज्ने कि गणतन्त्र भनेर गरेको प्रश्नको जवाफ एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितेपछि दिएका छन् । थापालाई जवाफ दिँदै ओलीले सुहाङ राजाको छोरा नभएको बताएका छन् ।

‘हरेक प्रश्नको जवाफ यहाँका नेताहरूले व्यवहारबाटै दिनुभएको छ। एमालेमा असन्तुष्टि हुन्छ, राजाको छोरो राजा भनियो,’ ओलीले भने, ‘कमरेड सुवास नेम्वाङलाई राजा बनाएर राजाको छोरो राजा बन्न लागेको भनियो। उहाँ त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्धा हुनुहुन्थ्यो। योद्धाको छोरा योद्धा नभएर, बाघको छोरा बाघ नभएर स्याल हुन्छ त?’।



प्रतिक्रिया दिनुहोस्

Screenshot