Logo

कांग्रेस प्रवक्ता महतको दाबी ‘सरकारको आयु लामो छैन’



काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य डा. प्रकाशशरण महतले वर्तमान सरकारको आयु लामो नरहेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार विरोधाभास र अविश्वासको जगमा उभिएकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् ।

‘सरकार निर्माणमा अर्को निर्वाचन अगाडि गठबन्धन नभई एउटै दलको बहुमत छैन । कुनै न कुनै समीकरण र गठबन्धन नभई सरकार बन्दैन । अहिले माओवादी, एमाले, रास्वपा, समाजवादी सबै मिलेर बहुमत पुगेको अवस्था हो । तर, अहिले सरकार जुन जगमा बसेको छ, त्यहाँ विश्वासको यथेष्ट कमी छ । त्यो अवस्थामा यो सरकार आफ्नै विरोधाभास र अविश्वासको जगमा उभिएको छ । यसको आयु कम हुने सम्भावना मैले देखिराखेको छु,’– उनले भने ।

साथै, अहिले कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नरहेको उनको भनाइ छ । अहिले कांग्रेसले चुपचाप बसेर हेरिरहेको र केन्द्रमा हामीले सरकार बनाउने कोणबाट सक्रियता नदेखाएको उनको भनाइ छ ।

तेस्रो, चौथो र पाँचौं दलहरुले सधैं कसैको न कसैको काँध चढेर नेतृत्व लिइरहने परिस्थिति निर्माण भएको बताउँदै उनले आगामी दिनका को सँग गठबन्धन गर्ने भन्ने कुरामा प्रमुख दलहरु नेकपा (एमाले) र कांग्रेसले ख्याल गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot