Logo

‘देशको भविष्य आन्तरिक र वाह्य कारणले गर्दा खतरामा छ’



रवीन्द्र मिश्र-

१। आज अन्तराष्ट्रिय श्रमिक दिवस, श्रमिकहरू लगभग सबैलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन।

२। ६० प्रतिशत नेपाली कृषिकर्ममा छन्। ती पनि श्रमिकै हुन्। अधिकांशलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन।

३। बेस्कन दानवीकरण गरेको ३० वर्षे पञ्चायतकालको ‍औसत आर्थिक वृद्धिदर लगभग ४ प्रतिशत थियो। सो अवधिमा छिमेकीहरू लगायत संसारका धेरै देशको अवस्था त्यस्तै थियो। तर त्यसपछि (अर्थात सन् १९९० पछि) छिमेकीहरूको तिब्र आर्थिक विकास शुरू भयो र बृद्धिदर ६ देखि १० प्रतिशत सम्म पुग्यो। नेपालको औसत वृद्धिदर लगभग ४ प्रतिशत मैँ सिमित रह्यो – त्यो बिजोग भएन।

४। सन् १९९० पछिका ३४ वर्षमा छिमेकीले पूर्वाधार, सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको स्तरमा व्यापक प्रगति गरे, हामीले गर्न सकेनौँ – त्यो बिजोग भएन।

५। नेपाल संसारकै सबैभन्दा अनैतिक (भ्रष्ट) मध्येको देश बन्यो र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा धूलिसात् भयो – त्यो बिजोग भएन।

६। नेपालको लगभग २० प्रतिशत, खासगरी युवा जनसंख्या, देश बाहिर छ र देशको कूल गार्हस्थ उत्पादनमा एक चौथाई (२५%) तिनै विदेशिएका नेपालीको योगदान छ – त्यो विजोग भएन।

७। देशका दक्ष जनशक्ति भटाभट बाहिरिँदै छन्। हरेक वर्ष एक लाखभन्दा बढि पढेलेखेका प्रतिभाशाली विद्यार्थी पढ्न बाहिर जान्छन्। पाएसम्म फर्किँदैनन् – त्यो बिजोग भएन।

८। पुँजी पलायन बढ्दो छ। व्यवसायी/उद्द्यमीहरू पुँजी लगेर विदेशमा लगानी गर्न उद्दत् हुँदैछन् – त्यो बिजोग भएन।

९। सन् २०२२ मा बंगलादेशमा ३/४ अर्ब, पाकिस्तानमा एक/डेढ अर्ब वैदेशिक लगानी आउँदा नेपालमा १० करोड डलर मात्रै आयो – त्यो बिजोग भएन।

१०। सन् २००० तिर २० लाख पर्यटकले भियतनाम भ्रमण गर्थे। अहिले त्यो संख्या एक करोड बढी छ। नेपालजस्तो अपार पर्यटकीय संभावना भएको देशमा सन् २००० तिर ५ लाख पर्यटकले नेपाल भ्रमण गर्थे। अहिले हामी १० लाखकै वरिपरी झुण्डिएका छौँ – त्यो बिजोग भएन।

११। न्यायलय लगायत राज्य संचालनका सबै प्रमुख अंगहरू भ्रष्ट र राजनीतिकृत छन् – त्यो बिजोग भएन।

१२। पहिचानको विषय ‘वाद’ मा परिणत भइसक्यो। धर्मान्तरण संसारमैँ सबैभन्दा तिब्र मध्येको छ। त्यसले देशभित्र जातीय र धार्मिक संवेदनशीलता झनझन पेचिलो बनाउँदै लगेको छ – त्यो बिजोग भएन।

१३। छिमेकी लगयात संसारमैँ शक्तिशाली देशहरूको आक्रामक राष्ट्रवाद (Aggressive Nationalism) बढ्दो छ। त्यस्तो अवस्थामा नेपाल भूराजनीतिक भूमरीमा पर्दैछ – त्यो बिजोग भएन।

१४। भ्रष्टाचार भविष्यमा पनि नियन्त्रण गर्न सकिन्छ तर शहरी विकास र भूउपयोग नीति बिग्रियो भने देश सदियौँका लागि बर्बाद हुन्छ। नेपालका शहरहरू कंक्रिटको जंगल/”धनीहरूको सुकुम्बासी बस्ती” मा परिणत भइसक्यो – त्यो बिजोग भएन।

१५। मरेर काम गर्दा या चाकडी गर्दा पनि आफ्नो परिवारको जिवनस्तरमा खासै सुधार आएको छैन तर आफूले चुनेका पार्टीको नेताको जिवनस्तर भव्य छ – त्यो बिजोग भएन।

१६। ज्ञानको संकट (Knowledge Crisis) दिन प्रतिदिन तिब्र भएर गइरहेको छ। देश सञ्चालन औसतभन्दा न्यून जनशक्तिले गर्नु पर्ने अवस्था आइसक्यो – त्यो बिजोग भएन।

१७। देश हाम्रो पुस्ताको मात्र पेवा होइन। भावी पुस्ताका लागि हामीले ठिकठाकै देश हष्तान्तरण गर्नुपर्छ। देशको भविष्य आन्तरिक र वाह्य कारणले गर्दा खतरामा छ। त्यस्तो अवस्थामा आन्तरिक शक्तिहरू नै विभाजित भए भने, देश बनाउन र बचाउन कठिन हुन्छ। विश्व इतिहास र वर्तमानले त्यही देखाएको छ।

त्यसैले आन्तरिक शक्तिहरू सबैले एक-अर्कालाई घृणा नगरौँ, निषेध नगरौँ। #नवीनसमझदारी मा जाऊँ र देशलाई विगतबाट शिक्षा लिएर, नबहकिकन ‘सर्भिसिङ’ होइन, ‘ओभरहलिङ’ गरौँ भन्ने एकमात्र दलले चुनावमा नराम्रो हार ब्योहर्नु पर्दा – त्यो चाहि “कन्तबिजोग” भयो!

१८। भ्रममा नबाँचौँ। त्यस्तो मानसकिता नबदल्ने हो भने यो देश बन्दै बन्दैन। बन्नुभन्दा अगाबै संकटमा पर्छ। त्यसको दोष राजनीतिकर्मीलाई मात्र दिएर पुग्दैन। त्यस्तो अवस्थालाई मलजल गर्ने पढेलेखेका ‘विद्वान’हरू सो अवस्थाका लागि अझ बढी जिम्मेवार छन् भनेर बुझ्नु पर्छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot