Logo

पोखरामा किसानका लागि आइपिएम पाठशाला



गण्डकी, १९ वैशाख । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ ।

पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले वडा नं ११ स्थित काहुँ सिस्नेरीमा किसानलाई प्राङ्गारिक विधिबाट खेतीगर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गरिएको जानकारी दिए ।

व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना खेती गर्न र प्राङ्गारिक विधिबाट खेती गर्न अभिप्ररित गर्न पाठशालामा ज्ञानसीप सिकाइने छ । हाल ३५ जना किसानको सहभागितामा काँक्रो बाली लक्षित १६ हप्ते पाठशाला सञ्चालन गरिएको कडरियाले बताए ।

पाठशालाको सिकाइलाई प्रभावकारी बनाउन गडेउला, खपटे, खुम्रे, पुतली र औँंसा गरी पाँच समूह बनाइ प्राविधिकसहित प्रयोगात्मक सिकाइसमेत भइरहेको समूहका सदस्य पार्वतीदेवी आचार्यले बताए ।

पाठशालाका लागि किसानले गत चैत १६ गते भक्तपुरे लोकल जातको काँक्रोका बेर्ना रोपेका र अहिले सोही बालीका बारेमा सिक्ने तथा सिकाउने काम भइरहेको अर्का सदस्य सुभद्रा आचार्यले जानकारी दिए ।

पाठशालाका लागि महानगरपालिकाले एक लाख विनियोजन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot