Logo

केपी ओलीको कारण नेपाल–भारत सम्बन्ध राम्रो भएन, मोदीले जितुन् भन्ने चाहना छ : डा. दीक्षित (भिडिओसहित)



काठमाडौं, १९ बैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिले नेपाल र भारतबीच राम्रो सम्बन्ध नरहेको टिप्पणी गरेका छन् । उनले दुई नेपाल–भारत दुई देशबीच सम्बन्ध बिग्रिनुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हात रहेको बताए ।

उनले भने,‘नेपाल र भारतबीच राम्रो सम्बन्ध छैन्, यसको श्रेय ओलीलाई नै जान्छ । ओलीजीले जुन सम्बन्ध बिगार्नुभयो, त्यो चाहीँ अहिलेपनि कायमै छ । अहिले फेरि केपी ओली शक्तिशाली भैहाल्नुभयो, अब उहाँले आफ्नो परराष्ट्र नीतिमा सुधार्नुपर्छ । किनभने भारतलाई चिढ्याएर वा दुश्मन बनाएर हामी अघि बढ्न सक्दैनौं ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारतसँग सुमधुर सम्बन्ध बनाएर जाँदा नै नेपालको हित हुने बताए । भारतसँग नेपालको खुला सिमाना भएकोले भारतको प्रगति र समृद्धिबाट नेपालले जतिसक्दो धेरै फाईदा लिनसक्नुपर्नेमा उनको जोड थियो ।

उनले भारतको चुनावबारेपनि चर्चा गर्दै अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी र उनी सम्मिलित भारतीय जनता पार्टीले जित्नुपर्ने सदासशयता देखाए । भाजपा नेपालप्रति सफ्ट कर्नर हुने गरेको भन्दै यो निर्वाचनमा पनि भाजपाले जित्नुपर्ने उनको धारणा छ ।

उनले भने,‘म चाहन्छु की मोदीले भारतमा चुनाव जितुन्, उनले जितेको फाईदा हामीले लिनुपर्छ । भारतसँग हामीले आर्थिक फाइदा लिनुपर्छ । अब हामीले हित हुने पोलिसी लिनुपर्छ । हिट अनि हिट पोलिसी होईन । दुवै देशले हितलाई हेर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्