काठमाडौं, २० बैशाख । देश आर्थिक रुपमा संकटग्रस्त छ । अर्थतन्त्रमा सकारात्मक सुधार आउन सकेको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सुधार भएको र छिट्टै समृद्धिको लय समातिने दाबी गर्दै आएका छन् । तर, व्यवहारमा भने त्यस्तो छैन् । जनता अहिलेपनि चरम महँगीको मारमा छन् । विकास निर्माणको कार्य अवरुद्ध भैरहेको छ । निर्माण व्यवसायीहरुले अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् । देशको नेतृत्व र बागडोर सम्हालेकाहरु भने उद्घाटन र शिलान्यासमा व्यस्त छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारको पालामा झापाको दमकमा भ्यु–टावर निर्माण गरिएको थियो । त्यो आयोजना अहिले निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा छन् । ओलीको पालामा नेपालमा भ्यु–टावरको लहर नै चलेको छ । कतिपयले भने भ्यु–टावरमा चढेर देशको गरिबी हेर्ने हो र ? भन्दै प्रश्नसमेत उठाएका छन् ।
ओलीले आफ्नो गृहजिल्लामा देशकै महँगो भ्यु–टावर बनाएका छन् । २ अर्ब लागतको उक्त टावर भव्य व्यापारिक मलको रुपमा सञ्चालनमा आउँदैछ । केही दिनअघि ओली झापा जाँदा भ्यु–टावर पुगेका थिए । र, अवलोकन गरेका थिए । सो क्रममा उनले स्थानीयहरुसँग फोटो–सेसन नै गरेका थिए । कांग्रेस नेता विश्वप्रकाश शर्माले केहीअघि कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भ्यु–टावर निर्माणको औचित्माथि प्रश्न उठाएका थिए । सो क्रममा ओलीले भने भ्यु–टावर निर्माण गरिनुको औचित्य प्रकाश पारेका थिए ।
उक्त टावर दमक बजारबाट करिब ५ किलोमिटरको दूरीमा छ । टावर वरिपरि झुपडीहरु रहेको देखाईँदै टावरको औचित्यमाथि बेलाबेलामा प्रश्नसमेत उठाईएको छ । तर, ओलीले विकासविरोधीले आलोचना गरेको भन्दै त्यसको प्रतिवाद गर्ने गरेका छन् । टावर निर्माणको विषयमा महालेखापरीक्षकको कार्यालयले पनि पटक पटक प्रश्न उठाएको छ ।
टावर निर्माण भएर सञ्चालनमा आउनै लाग्दापनि अहिले टावरले सञ्चालन खर्चसमेत धान्न नसक्नेबारे कुरा उठेको छ । टावर निर्माणमा प्रत्यक्ष संलग्न रहेको सहरी विकास मन्त्रालयले पनि टावर सञ्चालन गर्दा खर्चिलो हुने देखेको छ ।
काठमाडौंको धरहरा भन्दा अग्लो रहेको भ्यु टावरले मुलुकको समृद्धिमा योगदान दिन नसक्ने सो क्षेत्रका व्यवसायीहरुले समेत गुनासो गर्न थालेका छन् । करिब ५ बिगाहा जग्गामा फैलिएको उक्त टावरको निर्माण लागतपनि बढेको हो । २०७६ असार २७ गते १ अर्ब ५६ करोड १४ लाख ३९ हजारमा २०७८ असर २७ गते भित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको भएपनि निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएपछि पछि म्याद थप भएको हो । पहिलोपटक थपिएको म्याद गत वर्षको असार मसान्तसम्म थियो ।
तर, थपिएको समयमा पनि काम सम्पन्न नभएपछि तेस्रोपटक म्याद थप गरियो । महालेखा परीक्षकको ६०औ प्रतिवेदनमा माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित नहुने हो कि भनेर प्रश्न उठाएको थियो । करिब १ अर्ब ७० करोड रुपैयाँमा भ्यु टावरको ठेक्का चिनियाँ कम्पनी तेडिआइ फिजेदले पाएको छ ।
नेपालबाट भने ओम साइराम र आशिष् कन्स्ट्रक्सन साझेदार छन् । रोचक त के भने भ्यु–टावर सञ्चालनको लागि मन्त्रालय, दमक नगरपालिका वा सरोकारवाला निकायले जिम्मा लिन चाहेका छैनन् । यो टावर सञ्चालनको खर्चसमेत नउठ्ने भन्दै दमक नगरपालिका यसअघि नै पन्छिएको छ । अरबौंको टावर निर्माण हुँदा धेरैले रोजगारी पाउने ओलीको दाबी छ ।
तर, टावर सञ्चालनको जिम्मा लिन भने कोही पनि तयार छैनन् । नेपालमा अहिले भएका सटरपनि बन्द हुने अवस्थामा पुगेका छन् । काठमाडौंका प्रमुख व्यापारिक केन्द्रहरु न्यूरोड, नयाँ बानेश्वरमा यतिवेला धमाधम सटर बन्द भैरहेको अवस्थामा यो भ्यु टावर बने उद्घाटन नहुँदै धराशयी बन्ने हो कि भन्ने चिन्ता हुन थालेको छ ।