काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । उनले अब कांग्रेसले स्थिर सरकार दिने पनि दाबी गरे ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको आयु धेरै नरहेको जिकिर गरेका हुन् ।
पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार बनाउने हल्ला चलिरहेको बेलामा महतको यस्तो दाबी आएको हो । उनले भने,‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’