Logo

माधव नेपाल राजी भएपछि अब उपेन्द्र यादवको पखाईमा देउवा, बुधबार निर्णायक वार्ता



काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले–माओवादी केन्द्रको गठबन्धन भत्काउनको लागि थालेको गृहकार्यलाई निश्कर्षमा पुर्याउनेगरि छलफल तथा भेटवार्तालाई तिव्रता दिएका छन् । पछिल्लो समय उनले एमाले–माओवादी गठबन्धनमा ढिलोगरि सामेल भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई उक्त गठबन्धनबाट बाहिर निकाल्नको लागि अलिक बढि नै जोड गरेका छन् ।

सो दलका अध्यक्ष माधवकुमार नेपालसँग लगातार देउवाको उठबस छ । आजमात्रै पनि दुई नेताबीच भेटवार्ता भएको बताईएको छ । माधव नेपाल पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिच्किएका छन् । ओली र उनीबीच सार्वजनिक कार्यक्रममार्फत नै आरोपप्रत्यारोप चल्न थालेको छ । हिजोमात्रै रसुवाको एक कार्यक्रममा ओलीले माधव नेपालमाथि प्रधानमन्त्री खानको लागि दमको विरामीजस्तो हर्याकहर्याक गरेको भनेर कडा टिप्पणी गरेका थिए ।

यसअघि नेपालले आफू प्रधानमन्त्री हुन लाग्यो भनेर कोही कोहीलाई ढाहा लागेको भन्दै ओलीलक्षित टिप्पणी गरेका थिए । सत्ता गठबन्धनमा समस्या छ भन्ने कुरा सुदूरपश्चिम प्रदेशको नेतृत्व लिएका एकीकृत समाजवादीका दीर्घ सोडारीलाई विश्वासको मत लिनको लागि परेको सकसले पनि पुष्टि गर्छ । एमाले नेतृत्वको स्पष्ट निर्देशनको कारण सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने चर्चा चल्न थालेको छ।

कांग्रेस सभापति देउवाले माधव नेपाललाई प्रधानमन्त्री बनाउनेगरि नयाँ गठबन्धन बनाउन सकिने विकल्पमा छलफल चलाएका छन् । माधव नेपाल बाहिरिए जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवपनि बाहिरिनेमा देउवा ढुक्क छन् । यादव यतिवेला अमेरिकामा छन् । उनी अमेरिकाबाट फर्किएलगत्तै देउवा र माधव नेपालले निर्णायक वार्ता गर्ने भनेका छन् । यादवले पनि माधव नेपाललाई उनले लिने निर्णयमा साथ हुने विश्वास दिलाएको चर्चा छ ।

देउवाले नयाँ गठबन्धनबाट माधव नेपाललाई पहिलो चरणको प्रधानमन्त्री बनाउने र त्यसपछि ६ महिनाको लागि भएपनि यादवलाई पनि प्रधानमन्त्री बनाउन सकिने अस्त्र फालेको बुझिएको छ । देउवाको गृहकार्यले सार्थकर्ता पाउने वा नपाउने भन्ने कुरा यादव स्वदेश फर्किएपछि हुने छलफलले निर्धारण गर्दछ । यादव मंगलबार स्वदेश फर्किने बताईएको छ । यादव फर्किएको भोलिपल्ट बुधबार तीन नेताबीच निर्णायक छलफल हुने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot