Logo

बहुउद्देश्यीय सिटीहल अझै अधुरै



खजुरा (बाँके), २४ वैशाख । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयपुरमा निर्माणाधीन बहुउद्देश्यीय सिटीहल अझै सम्पन्न हुन सकेको छैन । सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भइरहेको उक्त हलको तीन पटकसम्म म्याद थपिँदा पनि अधुरै छ ।

कोरोना, निर्माण सामग्री समयमा नपाउनु र बीचमा डिजाइन परिवर्तन गर्नु परेकाले तोकिएको समयमा हल निर्माण पूरा हुन नसकेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेले जनाएको छ । पछिल्लो समय कामले तीव्रता पाएको कार्यालयका प्रमुख विजय केशर खनालले बताए ।

डिजाइन परिवर्तन गर्दा थप सात करोड बजेट आवश्यक परेकाले सो बजेट केन्द्रसँग माग गरिएको भन्दै बजेट प्राप्त भएमा आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने उनले बताए ।

प्रमुख खनालका अनुसार कूल २९ करोड ४५ लाख ५५ हजार नौ ५१ लागतमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी भवनको डिजाइन परिवर्तन गर्दा ३२ करोड लागत पुगेको छ ।

सिटीहल निर्माणका लागि विसं २०७८ साउन २५ गते काम सम्पन्न गर्नेगरी विसं २०७५ माघ २५ मा सम्झौता भएको थियो । हालसम्म करिब ८६ प्रतिशत भौतिक प्रगति भएको जनाउँदै माग गरिएको बजेट तत्काल आउने हो भने असारसम्म काम सम्पन्न गरिने प्रमुख खनालको भनाइ छ । उनका अनुसार भवनमा बालकोनीसहित सात ९५ सिट क्षमताका साथै तीन वटा ‘कन्फ्रेन्स हल’समेत रहेका छन् ।

पश्चिम नेपालको केन्द्रबिन्दु नेपालगञ्जमा हुने विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, सांस्कृतिक कार्यक्रमलगायत सञ्चालन गर्न सो सिटीहल बहुउपयोगी हुने आशा गरिएको छ । रासस/file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot