Logo

मनमोहन गान्धी मार्ग सञ्चालनमा आएन



पथरी, २४ वैशाख । तीन दिनदेखि अवरुद्ध मोरङको मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आउनसकेको छैन ।

मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयले शनिबार पथरी शनिश्चरे–९ स्थित महेन्द्रचोकमा सडक अवरूद्ध गरेका थिए । ह्युम पाइप, ढुङगा र काठलगाएर सडकअवरूद्ध गरिएको र निर्माणको काम फेरि सुरूहुने सुनिश्चितता नहुँदासम्म अवरोध कायमै रहने सडक सङ्घर्ष समितिका सहसंयोजक सुमन वनेमले बताए ।

यसअघि सङ्घर्ष समितिले गत मङ्सीर १३ गते पनि सडकअवरुद्ध गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधि दीपक थिङले तीन महिनाभित्र काम सम्पन्न गर्ने सहमतिपछि त्यसबेला सडक सञ्चालन गर्न दिइएकामा सो सहमति कार्यान्वयन नभएकाले पुनः अवरोध गर्नुपरेको वनेमले जानकारी दिए ।

पथरीशनिश्चरेस्थित २५ किलोमिटर लम्बाइ र ६० फिट चौडाइ सडक निर्माणको ठेक्का एक करोड ९४ लाख ९४ हजारमा कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पाएको छ । निर्माण कम्पनीले करिब दुई वर्षदेखि सडक निर्माणको काम नगर्दा स्थानीय आक्रोसित छन् ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण मनमोहन गान्धी सडकमा पर्ने मोरङ पथरी शनिश्चरेको वडा नं ६, ८, ४, ९ र १० का स्थानीयवासीले सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासीले सङ्घर्ष समिति गठन गरी सडक निर्माण गर्न दबाब दिँदैआएका छन्। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot