Logo

अमेरिकाबाट फर्किए उपेन्द्र यादव : आजै संसदीय दलको बैठक बस्ने, महाधिवेशन नरोकिने



काठमाडौं, वैशाख २५ । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन अमेरिका पुगेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् । जनता समाजवादी पार्टी (जसपा नेपाल) का अध्यक्षसमेत रहेका यादव आज बिहान काठमाडौं आइपुगेका हुन् ।

अध्यक्ष यादव आएसँगै स्वदेश फर्किएसँगै आज बस्नेगरी संसदीय दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने जनाइएको छ ।

आइतबार मात्रै ७ जना प्रतिनिधिसभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका छन् । अब यादव पक्षमा छ जना सांसद रहेका छन् । सोही विषयका बारेमा संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका पार्टीका नेताहरुसँग कुरा गर्दै मन्त्री यादवले पार्टीको महाधिवेशनको प्रक्रिया नरोकिने बताएका छन् । महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेकाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन हुने उनले बताए ।

उनी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेर बैशाख १६ गते अमेरिका उडेका थिए । फर्किदा पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको छ । अशोक राईले जनता समाजवादी पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेको छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot