Logo

माधव नेपाल र उपेन्द्र यादवमाथि तत्काल पार्टी एकताको लागि दबाब



काठमाडौं, २५ बैशाख । एउटै मोर्चामा रहेका दलहरु नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालको नेतृत्वमाथि पार्टी एकताको दबाब बढेको छ । उपेन्द्र यादवले नेतृत्व गरेको जसपा, नेपाल विभाजनको शिकार बनेपछि दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वमाथि पार्टी एकताको दबाब बढेको चर्चा सुरु भएको छ ।

उपेन्द्र यादव अमेरिकामा रहेको बेला यता अशोक राईले ७ सांसदसहित पार्टी विभाजन गरेका छन् । उनको नेतृत्वमा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भैसकेको छ । आयोगले हिजोमात्रै राईलाई दल दर्ताको प्रमाणपत्र दिसकेको छ । यता, यादव अमेरिकाबाट स्वदेश फर्किनेबित्तिकै भावी रणनीति तय गर्न जुटेका छन् ।

उनले आजै विहान प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो भेटवार्तामा उनले आफ्नो पार्टी विभाजन गर्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री दाहालमाथि पनि आक्रोश पोखेका थिए । उनले आजै साँझसम्म आफू सरकारबाट बाहिरिने पनि चेतावनी दिएका छन् ।

यादवसँग यतिवेला आफूसहित ५ जना सांसद छन् । उता, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भित्र पनि विद्रोह हुन लागेको सूचना चुहिएपछि सो दलका नेताहरु चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपालका असन्तुष्ट सांसदहरुको नियमित उठबस चल्न थालेपछि माधव नेपालपनि सशंकित बनेका छन् । अहिले जसपा, नेपाल र एकीकृत समाजवादीका नेतृत्वलाई तत्काल पार्टी एकता गरेर जान दुवै दलका प्रभावशाली नेताहरुको सुझाव छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot