Logo

कक्षा १२ को परीक्षा सकेर घुम्न गएका दुई जनाको दुर्घटनामा मृत्यु, दुई जना घाइते



काठमाडौं, वैशाख २६ । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौंका रुविन रावल र स्वीकार राना छन् ।

दुर्घंटनामा उपकार थापा र ऋतिक तिवारी घाइते भएका छन्। घाइते दुबै जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं ल्याइएको छ । घाइतेमध्ये थापाको टाउको, हात, खुट्टालगायतमा घोट लागेको छ भने तिवारीको देव्रे खुट्टा भाचिएको छ ।

बानेश्वरस्थित ग्लोबल कलेजमा अध्ययनरत उनीहरु कक्षा १२ को अन्तिम परीक्षा सम्पन्न भएसँगै दशजना साथीहरु मिलेर पाँचवटा मोटरसाइकलमा धादिङ घुम्न जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेका हुन् ।

नुवाकोटको बट्टारस्थित अर्किड एकेडेमीको बा३क ३७२२ नंको बस बेलकोटगढी–८ काशीटारमा विद्यार्थी छाडेर फर्किन लागेको समयमा दुईवटा मोटरसाइकल ठोक्किएको हो ।

बागमती प्रदेश ०२–०४६ प १५२९ नंको मोटरसाइकलमा चढेका रुविनको घटनास्थलमा र स्वीकारको उपचारको क्रममा त्रिशूली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot