काठमाडौं, वैशाख २६ । एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटर नियुक्त गरेको छ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले गतवर्ष साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनशिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । ललितपुरस्थित होटल हिमालयनमा आयोजना गरिएको उक्त सम्मान कार्यक्रयमा बैंकले अन्जनालाई ब्रान्ड प्रमोटरको रुपमा घोषणा गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरेको हो ।
पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानशिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिदै फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो । प्रतियोगितामा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा नेपाल उपाधिबाट बञ्चित भएको थियो ।
बैंकले मैदान र मैदान बाहिर रहेर प्रतियोगिताभर विशेष योगदान गर्ने सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दै अगामी दिनहरुमा पनि यस्तै सफलता प्राप्त होस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गरेको छ ।