काठमाडौं, वैशाख २६ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले कर्जा ग्राहकलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ ।
देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत्र मसान्त सम्म भाखा नाघेका कर्जाको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ ।
बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका ९१ देखि १८० दिन, १८१ देखि ३६५ दिन र ३६५ भन्दा बढी अवधिका कर्जाहरुमा ऋणीले यही जेठ महिनाभित्र चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो।
त्यसैगरी, साधारण बक्यौता ब्याज रकममा समेत ती कर्जाहरुमा क्रमशः १५ प्रतिशत, २५ प्रतिशत र ३५ प्रतिशत छुट पनि प्रदान गर्ने भएको योजना सार्वजनिक गरेको छ। देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले सो योजना सार्वजनिक गरिएको बैंकले बताएको छ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले सो योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकको भनाइ छ।
यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको बताएको छ।
यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको विश्वास छ।