काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनेहरुको हालत खराब भएको भन्दै माधव नेपाललक्षित कडा टिप्पणी गरेका छन् । उनले एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थीहरुको हातमा सरकार बुझाउनेहरुको हालत अहिले खराब भएको बताएका हुन् । एमालेको कपिलवस्तु जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अब पार्टीभित्र कुनै गुट वा उपगुट स्विकार्य नभएको बताएका हुन् । उनले गुट बनाउनेहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने पनि चेतावनी दिए ।
सम्बोधनको क्रममा उनले भने,‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट छ, पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ ।’
उनले हिजो एमाले विभाजनको बेलामा पनि कपिलवस्तुले सबै षड्यन्त्रलाई चिरेर जवाफ दिएको भन्दै अहिले पनि कपिलवस्तु पार्टी बलियो बनाउने काममा दृढ रहेकोमा सम्मान प्रकट गरे । उनले थपे,‘‘हिजो एमालेभित्र रहेका केही स्वार्थीलाई पचेन, डाहा भयो, उनीहरू कहाँबाट सञ्चालित भएका हुन् रु गलत मनसायले पार्टी फुटाए, कम्युनिष्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाए, अझै पनि महसुस गरेका छन् वा छैनन् ?, कपिलवस्तुले त्यो सबै षडयन्त्रविरुद्ध बनेको गठबन्धनविरुद्ध एकजुट भएको हो पार्टी केन्द्रले कपिलवस्तुलाई उच्च सम्मान गरेको छ । अब पनि त्यो सम्झनुप¥यो ।’
सो क्रममा उनले आफूहरुको काँधमा लोकतन्त्रको प्रवर्द्धन गर्ने, सुशासन ल्याउने अनि विकास र समृद्धिको जिम्मेवार रहेको सुनाए । त्यसको लागि एमालेको एकल सरकार बनाउन आवश्यक रहेको ओलीले आवश्यकत्ता सुनाए ।