Logo

राजा र राणाका विरुद्ध लडेको कांग्रेसलाई रास्वपा सामान्य होः सुनिल शर्मा (भिडिओसहित)



काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबने पूरै अवधि संसद् नचल्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा ढिलो चाँडो छानविन समिति बन्ने बताएका हुन् । ‘छानविन समिति ढिलोचाँडो बन्छ । यो डेमोक्रेटिक कन्ट्रीमा पेलेर जान्छु भनेर कहाँ पाइन्छ ? त्यसो हो भने पाँच वर्ष संसद नचलाई जानुपर्यो । सक्नुहुन्छ उहाँहरुले ? छानविन समिति बनाउन डराउन पनि पर्दैन,’– उनले भने ।

नेताप्रति सामाजिक रुपमा प्रश्न आइसकेपछि त्यो हो वा होईन भन्ने अर्को विषय भएपनि प्रश्न उठिसकेपछि त्यसको न्यायोचित निवारण र त्यसको फ्रि एण्ड फेयर इन्भेष्टिगेसन गर्न आवश्यक रहेको उनले बताए । नेता शर्माले फ्रि एण्ड फेयर इन्भेष्टिगेसन संसद् नै रहेको दाबी गरे । प्रधानमन्त्री र गृहमन्त्री जस्तो पदमा रहेकामाथि उठेको प्रश्नको अनुसन्धान कर्मचारीले गर्न नसक्ने उनको भनाइ छ ।

अग्निपरीक्षा दिएर नै अयोध्याका राम भगवान बनेको स्मरण गराउँदै उनले सहकारी ठगी प्रकरणमा कांग्रेसले माग गरेको छानविन समितिले उपप्रधान एवं गृहमन्त्रीलाई आफू निर्दोष रहेको प्रमाणित गर्ने अवसर प्रदान गर्ने बताए । राणा र राजाका विरुद्ध लडेको कांग्रेस रास्वपाका निम्ति लड्ने कुरा सामान्य रहेको उनले बताए ।

साथै, माओवादी उत्तर कोरियाको मोडलमा चलेको आरोप लगाए । कम्युनिष्ट दलमा एमाले विस्तारै डेमोक्रेटिक भइरहेको भए पनि माओवादी डेमोक्रेटिक हुने प्रक्रियामै नगएको उनको भनाइ छ । उनले जनयुद्ध लडेर आएका वर्षमान पुन र जनार्दन शर्मालाई पनि प्रचण्डले पाखा लगाउन सक्ने उनले आशंका व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot