Logo

नगरपालिका संघका अध्यक्ष ढुंगानाको चेतावनीः समानीकरणको अनुदान निकासा नभए सिंहदरबार घेरिन्छ



काठमाडौं, २७ वैशाख । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानीय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । आज (बिहीबार) रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भईसकेका आयोजनाहरु अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका हुन् ।

निलकण्ठ नगरपालिकाका प्रमुखसमेत रहेका ढुंगानाले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको तर्फबाट पटक–पटक रकम निकासाका लागि आग्रह गरेको बताए ।

प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै अब जेठ पहिलो हप्ता सम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरुले सिंहदरबार घेर्ने उनको चेतावनी छ ।

‘हामीलाई अझै पनि विश्वास छ सम्माननिय प्रधानमन्त्रीले वचन दिएअनुसार रकम निकासा हुन्छ,’ उनले भने, ‘यदि जेठ पहिलो हप्तासम्म पनि रकम निकास नभए सिहंदरबार केन्द्रीत आन्दोलन हुन्छ ।’

अध्यक्ष ढुंगानाले स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई समेत आन्दोलनका लागि काठमाडौं जाने दिन आउन सक्ने भन्दै तयारी अवस्थामा रहन भनेका छन् । ‘यदि रकम निकासा भएन भने जेठको दोस्रो हप्ता काठमाडौं आउनुपर्ने हुन्छ । म सबै स्थानीय सरकार प्रमुखहरुलाई समेत त्यसको तयारी गर्न आग्रह गर्दछु,’– उनले भने ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो । अध्यक्ष ढुंगाना आज लुम्बीनी प्रदेशका स्थानीय जनप्रतिनिधिसँगको छलफलका लागि आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot