Logo

सत्ताच्यूत भएको २१५ दिनपछि कोशीको मुख्यमन्त्रीमा हिक्मतको इन्ट्री



काठमाडौं,२७ वैशाख ।  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

एमाले संसदीय दलका नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरिएको थियो । सोही दाबीका आधारमा कार्की आज मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेकपा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ जना गरि ५२ जना सांसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को ५ अनुसार सरकारमा सहभागी दल र सांसदले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको प्रक्रिया उनले राजीनामा नदिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो।

प्रदेश सभाले पारित गरेको संकल्प प्रस्ताव अनुसार तोकिएको अवधिभित्र मुख्यमन्त्री कार्कीले प्रदेश सभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव अगाडि बढाउन सूचना नदिएको पत्र प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखलाई पठाएको छ। सोही पत्र र महान्यायाधीवक्ता कार्यालयको रायसमेतका आधारमा नयाँ सरकार गठनको आह्वान भएको थियो।

केन्द्रको सत्ता समीकरणमा फेरबदल आएसँगै चैत २६ गते एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्तापछि अल्पमतमा परेका कार्कीले विश्वासको मत नलिने अडान राखेपछि वैशाख ६ गते प्रदेश सभामा संकल्प प्रस्तावमसेत पारित भएको थियो ।

एमाले नेता कार्की कोशीमा तेस्रो पटक मुख्यमन्त्री बनेका छन् । सत्ताच्यूत भएको २१५ दिनपछि कोशीको सत्तामा इन्ट्री गरेका कार्की यसअघि २ पटक मुख्यमन्त्री बनिसकेका छन् ।

उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । ०७९ पुस १० मा एमाले माओवादी गठबन्धन बनेपछि कार्की २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री थिए ।

तर, एमाले माओवादी गठबन्धन लामो समय टिक्न सकेन् केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि राजीनामा दिए । कार्की सरकार ढलेपछि कोशीमा कांग्रेसको नेतृत्वमा सरकार बन्यो ।

तर, तत्कालीन गठबन्धनसँग बहुमत नहुँदा सभामुख रहेका बाबुराम गौतमको समेत समर्थन जुटाएर उद्धव थापा मुख्यमन्त्री बनेका थिए । असार २१ गते । सभामुखलाई सरकार बनाउने खेलमा सहभागी गराईएको भन्दै निवर्तमान मुख्यमन्त्री रहेका कार्की सर्वोच्च पुगे । सर्वोच्चले सभामुखलाई गणना गरेर बनेको सरकार असम्बैधानिक ठहर गर्दै पुर्न सरकार गठन गर्न आदेश दियो ।

सर्वोच्चको आदेश पछि सभामुख गौतमले राजीनामा दिएपछि फेरि थापा मुख्यमन्त्री नियुक्त भए । तर, उनले विश्वासको मत लिनेबेला प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिए । सभाध्यक्षले विश्वासको मत दिएपछि कार्की पुनः सर्वोच्च पुगे । उनले थापाले लिएको विश्वासको मत बदर गरेर सबैभन्दा ठूलो दलको नेताको रुपमा आफैलाई मुख्यमन्त्री नियुक्त दिलाउन माग गरेका थिए ।

कार्कीको मागबमोजिम सर्वोच्चले ०८० भदौं २० गते ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो । सर्वोच्चको परमादेशपछि ०८० भदौं २१ गतेदेखि असोज २० गतेसम्म दोस्रो पटक उनी मुख्यमन्त्री बनेका थिए ।

२०२१ साल असोज ११ मा झापा गौरादह ३ मा जन्मेका कार्की स्कुल तहबाटै विद्यार्थी राजनीतिमा प्रवेश गरेका नेता हुन्। महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आइएल अध्ययन गर्ने पहिलो ब्याचका विद्यार्थी कार्की कानूनमा स्नातकोत्तर हुन्।

एमाले अखिलको क्याम्पस प्रारम्भिक कमिटीबाटै सांगठनिक काम गरेका उनी अखिल नेपाल विद्यार्थी यूनियनको केन्द्रीय उपाध्यक्ष हुँदै २०५५ सालमा अखिलको अध्यक्ष बनेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot