Logo

चुनौतीपूर्ण बन्दै वन्यजन्तु संरक्षण, दश महिनामा २१ गैँडा मरे



चितवन, वैशाख २८ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन् ।

गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर मर्ने गरेका छन् । सङ्ख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए । उनले भने, ‘घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैँडा संरक्षणमा सहयोग पुग्छ ।’ यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उनले बताए ।

गत आर्थिक वर्षमा १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुननसकेको गैँडा मरेको थियो । हाल निकुञ्जमा छ सय ९४ गैँडा छन् । दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै भएपछि निकुञ्जले केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ ।



प्रतिक्रिया दिनुहोस्