Logo

रवि लामिछानेविरुद्ध कांग्रेसका नेताहरुले मुद्दाको फाइल बोकेर हिँडेको भन्दै ओलीको व्यंग्य : यति रिसर्च गर्दा त एउटा मान्छेले पिएचडी गर्छ



काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद्मा खेलेको भूमिकालाई लिएर आलोचना गरेका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राखेर गरेको सदन अवरोधलाई लक्षित गर्दै आजको संसद् बैठकमा कांग्रेसको भूमिका हेर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘कतिपय प्रशनहरु छन्, आज नेपाली कांग्रेसले के गर्छ हेर्नुपर्नेछ । अघिल्लो अधिवेशनमा नेपाली कांग्रेस अत्यन्तै रन्थिनियो । प्रधानमनत्री भैदियो भनेर यहाँपनि पुगेको छ, उहाँपनि पुगेको छ । त्यो सबै देखिएको थियो ।’ ओलीले आफूहरुले क्षणिक स्वार्थ राखेर प्रधानमन्त्रीको अफर गर्दै नहिँड्ने पनि जिकिर गरे ।

उनले सभामुखले बोलाएको संसद्का मुख्य दलका नेताहरुको बैठकमा आफूले कांग्रेसका नेताहरुलाई लोकतन्त्रमा सुहाउने सुन्दर अभ्यास गर्न सुझाएको स्मरण गराए । उनले भने,‘अस्तिको दिन प्रमुख दलहरुको छलफल भएको थियो । एमाले र कांग्रेसजस्ता पार्टीले आफूलाई प्रणालीको अभ्यास कस्तो हुन्छ सुन्दर अभ्यास देखाउनुपर्छ भन्ने कुरा मैले उठाएको थिएँ । तपाईंहरुले प्रश्न उठाउने अनि स्प्ष्ट पार्न नदिने कस्तो डेमोक्रेसी हो ? कस्तो हताशा र उन्माद हो कि ? अहंकार हो कि ? सरकारमा बस्न नपाएको आक्रोश हो कि ? कसरी यो विन्दुमा पुग्नुभयो भनेर मैले कांग्रेसका साथीहरुलाई प्रश्न सोधेको थिएँ ? प्रश्न उठाउने अनि जवाफ नदिने यो मिल्दैन् भनेर मैले स्पष्ट रुपमा भनेको थिएँ ।’

रवि लामिछानेमाथि कांग्रेसले प्रश्न उठाएको तर संसद्मा आफ्नो कुरा राख्न नदिएकोमा ओलीले आक्रोश पोखे । उनले भने,‘कसैलाई फाँसी दिनुछ भने पनि बोल्न दिईन्छ । पार्लियामेन्टमा प्रश्न उठाउने अनि बोल्न नपाउने भन्ने हुन्छ र ?’
रवि लामिछानेले दिएको निवेदनको आधारमा महान्यायाधिवक्ताको कार्यालयले लामिछानेमाथि कुनै उजुरी, मुद्दा वा अभियोजन छ कि छैन ? भनेर सम्बन्धित निकायमा बुझ्दा केही नपाएको र सोहीअनुसार जवाफ दिएको भन्दै ओलीले महान्यायाधिवक्ताको बचाउ गरे ।

उनले रवि लामिछानेविरुद्ध कांग्रेसका नेताहरु ठूलो ठूलो फाईल बोकेर हिँडेकोमा पनि आलोचना गरे । उनले भने,‘यत्रो ठूलो फाइल बोकेर हिँडेका छन्, यति रिसर्च गर्दा एउटा मान्छेले पिएचडी गर्छ । रमेश लेखक मुद्दाको फाईल बोकेर हिँड्नुभएको छ। मैले बधाई छ भनेको थिएँ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्