काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टी विभाजनले मधेश र मुक्ति आन्दोलनलाई फरक नपर्ने बताएका छन् । उनले पार्टी विभाजन गर्नेहरुलाई लोभीपापीहरुको संज्ञासमेत दिए । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको चौथो महाधिवेशन उद्घाटनका लागि जनकपुर पुगेका यादवले विमानस्थलमा संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले भने,‘कुकुरले टोक्यो भने हामीले कुकुरलाई टोक्न जाने होइन् । दुई–चार वटा लोभी पापीहरु यताउता गर्दैमा मुक्ति आन्दोलन र जनताको मुक्ति चाहनामा फरक पर्नेबाला छैन् ।’ आफ्नो पार्टी अरुले नै फुटाएको पनि यादवको दाबी छ ।
हिजोमात्रै यादवले आफ्नो पार्टी माओवादी केन्द्रले फुटाएको भन्दै अब फुट्ने पालो माओवादीका नै भएको सनसनीपूर्ण टिप्पणी गरेका थिए । जसपा, नेपाल विभाजन गरेर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ । नयाँ दलमा ७ जना संघीय सांसद छन् । file photo