Logo

समग्र सहकारीको होईन अहिले गृहमन्त्री लामिछानेको ठगी प्रकरणबारे मात्रै संसदीय छानबिन बनाउनुपर्छ : भीमसेनदास प्रधान



काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणबारे केन्द्रित भएरमात्रै संसदीय छानबिन समिति गठन हुनुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रधानले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको यथेष्ट प्रमाणहरु मिडियामार्फत बाहिरिँदापनि संसदीय छानबिन समिति नबन्नु दुःखद् भएको भन्दै लामिछानेको बचाउमा एमाले र सरकार लागिपरेको आरोप लगाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गृहमन्त्री लामिछानेमाथि गम्भीर आरोप लागेको कारण तत्काल राजीनामा दिएर पार्टीकै नेतालाई सो जिम्मेवारीमा पठाउन सुझाए । यद्धपी उनले आफूहरुले गृहमन्त्री लामिछानेको राजीनामा भने नमागेको स्पष्ट पारे ।

नेता प्रधानले आफू रवि लामिछानेबाट प्रभावित व्यक्ति भएको पनि सुनाए । उनले भने,‘म उहाँबाट धेरै प्रभावित भएको मान्छे हुँ । उहाँले सिधा कुरा चलाउनुभयो । सबै दलका नेता र सरकारलाई हिलो छ्याप्नुभयो । मिडियामा बोलेकै भरमा पहिचना बन्यो । उहाँलाई पक्राउ गर्दा चितवनमा जनता जुरुक्क उठे । चुनाव पनि जित्नुभयो । अहिले उहाँमाथि सहकारी ठगीको आरोप छ । प्रमाणहरु मिडियामा छताछुल्ल भएका छन् । कांग्रेसले यसबारेमा छानबिन समिति माग गर्दा उहाँले मान्नुभएन । सरकारले पनि रवि लामिछानेकै पक्षमा वकालत गरेको छ । प्रतिपक्षी दलले छानबिन समिति माग गरेपछि बनाउन किन आपत्ति भयो ? गृहमन्त्री उहाँकै दलका साथीहरुलाई दिए भैगयो नि । दाग नलागेकोलाई दिँदा हुन्छ ।’

उनले सहकारी ठगीको कारण आज पीडितले आत्महत्या गरेका समाचार आएको पनि स्मरण गराए । उनले भने,‘आज पीडितले सुसाईड गर्ने अवस्था आयो । मुलुकको गृहमन्त्रीले शान्ति, सुव्यवस्था गर्ने हो । सहकारी ठगी प्रकरणमा दोषी देखिएका जीबी राई फरार रहेको विषयमा गृहमन्त्रीले त्यतिवेलाका गृहमन्त्री र प्रधानमन्त्रीलाई आक्षेप लगाउनुभयो । त्यो आरोपको बारेमा जवाफ अब प्रधानमन्त्रीले दिनुपर्छ । हामी प्रधानमन्त्रीको राजीनामा माग्दैनौं तर अब उहाँले यसबारेमा संसद्मा बोल्नुपर्छ । गृहमन्त्रीले बोलेको यो कुरा संवेदनशील छ ।’

हिजो (शुक्रबार) को संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने सहमति भएको भएपनि सभा चलाउने क्रममा सभामुखले सुरुमै प्रवेश नगराउने भनेर सहमित भएको विषयलाई प्रवेश गराएपछि विवाद सुरु भएको प्रधानले स्पष्ट पारे । उनले भने,‘संसद्भित्र बस्ने प्रक्रिया छ । समय पाउने कुरा छ, गगन थापाले मागेको समयमा तीन मिनेट पाउनुभयो । गगन थापाले बोल्ने समय धेरै पायो भने रवि लामिछानेलाई नँग्याईदिन्छ भनेर सभामुखले जालझेल गरेर तीन मिनेटमात्रै समय दिनुभयो ।’
सो क्रममा उनले आगामी जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय भएकोले के गर्ने भन्ने विषयमा संसदीय दलको बैठक बसेर निर्णय लिईने स्पष्ट पारे ।

नेता प्रधानले यसअघि एमाले, माओवादी र कांग्रेसका मन्त्रीहरुले विभिन्न आरोप लाग्दा छानबिनको लागि राजीनामा दिएर सहयोग गरेको उदाहरण पेश गरे । तर, रवि लामिछानेमाथि यति ठूलो आरोप लाग्दा र प्रमाणहरु मिडियामार्फत सार्वजनिक हुँदापनि छानबिन समिति बनाउन आलटाल गरिनु दुःखद् भएको उनको टिप्पणी छ । उनले भने,‘एमाले र कांग्रेसले विभिन्न आरोपमा हात धुनुपर्ने अनि रवि लामिछाने रास्वपा भएकै कारण हात धुनु नपर्ने ? अहिलेपनि ठूला दल एमाले र कांग्रेस हुन् । हाम्रो मागमा एमालेले पनि साथ दिनुपर्ने हो । केपी ओलीको अभिव्यक्ति सुन्दा म छक्क पर्छु ।’

उनले आफूहरुले गृहमन्त्री लामिछानेको राजीनामा नमागेको पटक पटक जिकिर गरे । उनले थपे,‘गृहमन्त्रीको राजीनामा मागेको छैन् । गृहमन्त्रीलाई बोल्न दिन्छौं । उहाँको उत्तर आएपछि संसदीय छानबिन समिति माग्छौं । डकुमेन्ट र मुद्दाले बोलिसक्यो । रवि लामिछानेविरुद्ध कान्तिपुरले बोलेको छ । बिनातथ्य सोसल मिडियाले लेखेको हो र ? गृहमन्त्री लामिछानेको बारेमा मात्रै छानबिन हुनुपर्छ । बैशाख ३१ गते कांग्रेसको संसदीय दलको बैठक छ । त्यो दिन बोल्ड निर्णय हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्