काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा उठेका प्रश्नको जवाफ लामिछानेले नै दिने बताएका छन् । उनले भने,‘रवि लामिछानेलाई कुनै आईसियुमा राख्नपर्ने छैन् । एमालेले बचाउनुपर्ने पनि छैन् । रवि लामिछानेको सन्दर्भमा प्रश्न उठेका छन् भने त्यसको जवाफ उहाँले दिनुपर्छ ।’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सांसद थापाले रवि लामिछानेको व्यक्तित्व र राजनीतिक उदय नै बोलेकै कारण भएको भन्दै अहिले बोल्नको लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेसले लामिछानेलाई बोल्न नदिनु मजाकको विषय भएको टिप्पणी गरे । उनले भने,‘रवि लामिछाने भूमिगत भएर, आन्दोलनमा लडेर वा संघर्ष गरेर पार्टी बनाएर जितेर आउनुभएको होईन । उहाँ बोल्दै आउनुभएको हो । उहाँलाई बोल्ने कुरालाई रोक्ने कुरा भनेको कति गाह«ो कुरा हो । बोलेर बनेको पार्टी, बोलेर बनाईएको पार्टी, बोलेर मत ल्याएको पार्टी, सोसल मिडिया र युट्युवहरुमार्फत स्थापित भएको पार्टी हो–रास्वपा । अनि गृहमन्त्री र उपप्रधानमन्त्री भएपछि तपाईं बोल्न पाउनुहुन्न भनेर भन्न मिल्छ ? बोल्नको लागि हिजो विगतमा संघर्ष गरेको कांग्रेसले रोक्ने ? यो कत्तिको मजाकको विषय हो ।’
रवि लामिछानेले सहकारीको विषयमा बोल्न पाउनुपर्ने थापाको भनाई छ । उनले भने,‘हिजोको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापतिको हिसाबले हामी बोल्न दिन्छौं अनि गृहमन्त्रीको हैसियतमा बोल्न दिन्नौं भनेर कांग्रेसले दोक्ला निर्णय गर्यो । कांग्रेसले सभामखुले बोल्नको लागि रवि लामिछानेलाई रोष्ट्रममा बोलाउँदा पनि बाटो छेक्यो । कांग्रेसले कुन मानक स्थापित गर्यो ? हामीले सुन प्रकरणमा छानबिन गरौं भन्दापनि कांग्रेसका साथीहरुले बोल्न रोक्ने काम गर्नुभयो । विश्वप्रकाश शर्माले सुन प्रकरणमा छानबिन किन बनाउनुपर्यो भनेर भनेको होईन ? सत्ता पक्ष र विपक्षमा हुँदा बेग्लाबेग्लै कुरा हुन्छ ?’
थापाले कांग्रेस महामन्त्री शर्माले लय मिलाईमिलाईकन सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउनुपर्दैन भनेर बोलेको कुरा दोहोर्याए । उनले भने,‘हामीले प्रतिपक्षीमा बसेको बेला सहकारी पीडितलाई न्याय दिनुपर्छ भन्दा रवि लामिछाने पनि प्रतिपक्षको बेन्चमा हुनुहुन्थ्यो । खोई छानबिन गरेको हो ? त्यतिवेला कांग्रेस सरकारमा थियो त ।’
उनले अदालतमा विचाराधिन विषयमा सदनमा छलफल हुन नसक्ने स्पष्ट पारे । उनले भने,‘सूर्यदर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधिन छ । अनि यो विषय सदनमा छलफल हुन्छ ? रवि लामिछानेमाथि एउटा पूरक जाहेरीसम्म छ भनिएको छ । तर, उहाँको विरुद्धमा कुनै मुद्दा छैन् । अभियोजन छैन् । कसैले दोषी ठहर गरेको छैन् । कांग्रेसले सत्ताबाट बाहिर गएपछि दोषी ठहर गरिदिएको छ । कांग्रेसले फैसला गरेको कुरा संसद्ले मानिदिुनपर्ने हो र ?’
गगन थापाले हिजोको सदनमा सभामुखसँग निगाहको समय चाहिँदैन भनेर बोलेको कुरा स्मरण गराउँदै थापाले आपत्ति जनाए । उनले भने,‘उहाँलाई आकस्मिक रुपमा दिईएको समय हो । आकस्मिक समय ३ मिनेट नै हुन्छ । गगन थापालाई दिईएको समयपनि त्यही प्रावधानको समय हो । कुनैप्नि विषयमा कुरा उठेपछि मन्त्रीले बोल्ने विशेषाधिकार दिईएको छ । गगन थापा बोल्नुभयो । सभामुखको कृपा चाहिँदैन् भन्नुभयो । म भन्छु–संसद्मा सभामुखको कृपाले हो बोल्ने । सभामुखको रुलिङ मानेर बोल्नुपर्छ । हिजो सभामुखले कृपामा समय थपिदिएकै हो ।’
उनले ‘आरोप लागेको व्यक्तिको मुख थुनेर, एकोहोर मिडिया ट्रायल गरेर अनि स्टन्टबाजी गरेर’ कोही दोषी ठहर हुन्छ भन्दै प्रश्न गरे । सो क्रममा उनले कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्नुको रहस्यसमेत खुलाए । उनले भने,‘यो छानबिनको रहस्य भनेको रवि लामिाछनेलाई भित्रभित्रै प्रधानमन्त्रीको अफर गर्ने अनि अफर नमान्ने भनेर नक्कली बहानाबाजी बनाएर गरिएको हो । व्यक्तिकेन्द्रित छानबिन मान्य हुँदैन् । कांग्रेसले जे फैसला गर्यो, सदनले त्यही मान्छ र ? धेरै रुवाबासी नगरौं । यसले कहीँ पुर्याउँदैन् ।’
उनले सदनको अवरोध खोल्ने विकल्प भनेको नै कांग्रेसले आफूलाई रिभ्यु गर्नुपर्ने सुझाए । उनले भने,‘कांग्रेसले आफूलाई रिभ्यु गर्नुपर्यो । संसद्को बैठक चल्न नदिएर कांग्रेस रहँदैन् । आफ्नो कर्मले संकटमा नपरोस । बोल्न नदिएर समस्याको समाधान खोज्यो भने त्यो पार लाग्दैन् । संसद्मा कांग्रेसबाहेक अरु बोल्न नपाउने भन्ने हो ? यदि त्यो हो भने तपाईंको लोकतन्त्र मुर्दावाद । सम्यक छलफल हुनुपर्छ ।’